post-slider post-slider

विश्वकपमा अफगानिस्तानको चौथों जित, अंकतालिकामा उलटफेर

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय क्रिकेटमा अफगानिस्तानले चौथों जित हासिल गरेको छ।

शुक्रबार नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले जारी विश्वकपमा चौथों जित हासिल गरेको हो।

यसअघिका विश्वकपहरूमा अफगानिस्तानले केवल एकमात्र म्याच जितेको थियो। सन् २०१५ को विश्वकपमा एक जित हासिल गरेको अफगानिस्तान जारी विश्वकपमा अहिलेसम्म चार जित हात पारिसकेको छ।

लखनऊस्थित अटलबिहारी बाजपेयी मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७९ रनको लक्ष्य अफगानिस्तानले १११ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा ग¥यो।

अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह साहिदी र रहमत शाहले अर्धशतकीय इनिङ खेले।

कप्तान साहिदीले ५६ रन बनाएर अविजित रहे। जारी विश्वकपमा यो उनको लगातार दोस्रो अर्धशतक हो।

त्यस्ते रहमतले ५२ रन बनाउँदा ओपनर रहमतुल्लाह गुरबाज र इब्राहिम जिद्रानले १० रनको योगदान दिए।

अजमुदल्ला उमरजाई ३१ रन बनाएर नटआउट रहे।

नेदरल्यान्ड्सका लागि लोगन भान बीक, रेलोफ भेनडेर मेरवी र साकिब जुल्फिकारले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।

अफगानिस्तानका बलरसामु धारासायी भएको नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्गलब्रेचले सर्वाधिक ५८ र माक्स ओ डोडले ४२ रन बनाए।

यी दुईबाहेक नेदरल्यान्ड्सका अरू कुनै ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अफगानिस्तानका लागि मोहम्मद नबीले ३, नुर अहमदले २ र मुजीबउर रहमानले एक विकेट लिए। नेदरल्यान्ड्सका चार जना ब्याटर रन आउट भएका थिए।

अंकतालिकामा उलटफेर

अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेसँगै विश्वकपको अंकतालिकामा उलटफेर भएको छ।

यसअघि छैठौं स्थानमा रहेको अफगानिस्तान अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ भने पाकिस्तान छैठौं स्थानमा आएको छ।

अरू टिमको हार कुरेर बसिरहेको पाकिस्तानभन्दा सेमिफाइनलमा क्वालिफाइ हुने अफगानिस्तानको बढी सम्भावना देखिएको छ।

शनिबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलसम्म पुग्न दुवै टिमका लागि यो म्याच महत्वपूर्ण हुनेछ।

पाकिस्तानविरूद्ध न्युजिल्यान्डको पराजय भए अफगानिस्तान अंकतालिकाको चौथों स्थानमा पुग्ने सम्भावना देखिएको छ।

आइसिसीको नियमअनुसार अंकतालिकाका चार शीर्ष टोली सेमिफाइनलका लागि क्वालिफाइ हुनेछ।

भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो र ८ अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ।

 

Tags: