post-slider post-slider

राजा आउँछ भन्ने सोच्नु दिवा स्वप्न हो : गृहमन्त्री

Image
A A

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपर्ने बताएका छन्।

भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले व्यवस्थाविरूद्ध अहिले भइरहेको विरोधले कुनै फरक नपर्ने बताएका हुन्।

श्रेष्ठले भने,‘गणतन्त्रमा विरोध गर्न पाइन्छ, तर अहिले आएको विरोधले व्यवस्थामा चुनौती आउँदैन भन्ने हामीले लिएका छौं।’

गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भए त्यही समयमा निर्णय लिने उनले बताए।

उनले संघीयताको विरोध भइरहेको विषयलाई आफूहरूले ठूलो रूपमा नलिएको उल्लेख गरे।

‘संघीयता ल्याउन हुँदैन भन्ने पहिला पनि थियो, अहिले पनि छ। यसलाई हामीले ठूलो रूपमा लिएका छैनौं। जनताको आवश्यक्ता र चाहनालाई भने सम्बोधन गर्नु पर्दछ भन्नेमा हामी जिम्मेवार छौं,’ उनले भने।

मन्त्री श्रेष्ठले देशमा अब राजा आउने कुनै सम्भावना नरहेको दाबी गरे।

उनले भने,‘राजा आऊ, देश बचाऊ भनेर नारा लगाउनेलाई नै राजा आउँछ भन्ने विश्वास छैन। त्यसैले अब देशमा राजा आउँछन् भन्ने सोच्नु दिवास्वप्न हो। इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ।’

जनताको आवश्यक्तालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

टिकटक बन्द गरेका विषयमा जनताले स्वागत गरेको बताउँदै गृहमन्त्री श्रेष्ठले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने उल्लेख गरे।

 

 

Tags: