post-slider post-slider

जनमत पनि सरकारमा सहभागी, अनिताले लिइन् सामान्य प्रशासन मन्त्रीको सपथ

Image
A A

काठमाडौं- जनमत पार्टीकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सपथ लिएकी छन्।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

जनमत पार्टीलाई सरकारमा सामेल गराउन माओवादी केन्द्रले यसअघि सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

मोदी सरकारबाट फिर्ता भएसँगै साहले सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी हुन्।

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीमा नियुक्त गर्न साहको नाम एक महिनाअघि पठाए पनि माओवादी केन्द्रबाट कसलाई फिर्ता बोलाउने भन्नेबारे टुंगो नलाग्दा ढिलाइ भएको थियो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मालगायतका पदाधिकारीहरूबीच भएको छलफलमा मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय भएको थियो।

मोदीलाई फिर्ता बोलाएर माओवादी केन्द्रले उनको ठाउँमा जनमत पार्टीकी साहलाई सामान्य प्रशान मन्त्रालयको जिम्मेवारी दिएको हो।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानीमन्त्री रहेका अब्दुल खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए।

त्यसयता जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड निरन्तर प्रयासरत थिए। 

जनमत पार्टीका अध्यक्ष सिके राउतसँग केही दिनअघि भएको भेटवार्तामा प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

सरकारको नेतृत्व गरिरहेकाले प्रधानमन्त्री प्रचण्डले जनमतलाई सत्ता साझेदार बनाउन आफ्नै पार्टीका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका हुन्।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी पाँचमध्ये एक मन्त्रीलाई फिर्ता बोलाइएको हो।

यसअघि उद्योग र कृषि मन्त्रालयमा दाबी गरिरहेको जनमत पार्टीले भने यसपालि कुनै अडान प्रस्तुत गरेको थिएन।

सरकारको स्थिरताका लागि खास मन्त्रालयका लागि अडान प्रस्तुत नगरिएको जनमत पार्टीका नेताहरूले बताएका छन्।

जनमत पार्टीका प्रवक्ता शरतसिंह यादव यसअघि कृषि र उद्योग मन्त्रालयमा दाबी गरे पनि सरकारको स्थिरताका लागि त्यस्तो अडान नराखिएको बताए।

को हुन् अनिता साह?

सामान्य प्रशानमन्त्रीमा सपथ लिएकी साह जनमत पार्टीले सञ्चालन गरेको किसान आन्दोलनमा नेतृत्वदायी भूमिका वहन गरेकी थिइन्।

उनकै नेतृत्वमा धनुषाको पोर्ताहामा भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साहका पतिका साथै जनमत पार्टीका चार जना कार्यकर्ता घाइते भएका थिए।

त्यो आन्दोलनअघि जनमत पार्टीले साहलाई पार्टीको धनुषा जिल्ला इञ्चार्जनको जिम्मेवारी दिएको थियो।

उनी जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशन आयोजना समितिको अध्यक्षको जिम्मेवारी पनि वहन गरेकी थिइन्।

साह अहिले जनतम पार्टीको राष्ट्रिय सचिवका साथै संसदीय दलको प्रमुख सचेतक छिन्।

जनसंख्या विषयमा स्नातक गरेकी साह मानव अधिकारीको क्षेत्रमा वोरेक नेपाललगायतका संस्थामा काम गरेकी छन्।

 

Tags: