post-slider post-slider

मन्त्री–सचिव ‘टकराव’

Image
A A

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच ‘टकराव’ बढेको छ।

गत बिहीबार मन्त्रीले संघीय मामिला सचिव पुष्करको हाजिरीमा रातो घेरा लगाएपछि ‘टकराव’ बढेको हो।

९ बजे मन्त्रालयको आन्तरिक बैठक भएकाले पुष्कर त्यो दिन ८ बजेतिर मन्त्रालय पुगेका थिए। बिहानै मन्त्रालय पुगेका उनले हाजिरसमेत गरेका थिए।

आन्तरिक बैठकपछि सचिव पुष्कर दिउँसो करिब १ बजेसम्म मन्त्री मोदीसँगै थिए।

मन्त्री मोदीको राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिने पालो थियो। सचिव पुष्कर र अर्का एक जना सहसचिवले त्यसका लागि कागजात तयार पारे।

त्यसपछि सचिव पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्य सचिव बैकुण्ठ अर्यालले राखेको बैठकमा सहभागी हुन त्यसतर्फ गए।

त्यो बैठकमा जान पुष्करले मन्त्री मोदीसँग अनुमतिसमेत मागेका थिए। राष्ट्रियसभा बैठकबाट ३ बजेतिर फर्किएका मन्त्री मोदीले सचिव पुष्पकरको हाजिरीमा रातो घेरा लगाए।

‘मन्त्रीज्यूलाई राष्ट्रियसभामा जानुपर्ने भएकाले आवश्यक कागजात तयार पारेर सचिवज्यू मुख्यसचिवज्यूले डाकेको बैठकमा जानुभयो। त्यहाँ जान उनले मन्त्रीज्यूसँग अनुमति लिनुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो।

मुख्यसचिव अर्यालले बोलाएको बैठकमा संघीय मामिला, उद्योग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवहरू सहभागी थिए।

बैठक चलिरहेकै बेला मन्त्री मोदीले मुख्यसचिवलाई फोन गरेर आफ्नो सचिव त्यहाँ भएको नभएको बारे बुझेका थिए।

मुख्यसचिवले सचिव पुष्कर बैठकमै रहेको जानकारी मन्त्री मोदीलाई दिएका थिए।

‘मुख्यसचिवज्यूले बोलाएको बैठकमा सचिवज्यू हुनुहुन्थ्यो। त्यो बैठक अपराह्न ४–५ बजेसम्म चलेको थियो,’ मन्त्रालय स्रोतले भन्यो,‘आफ्नो सचिव त्यहाँ भए नभएको जानकारी मन्त्रीज्यूले मुख्यसचिवलाई फोन गरेर लिनुभयो। मुख्यसचिवले पुष्कर यहीँ भएको बताउनुभयो। त्यसपचि हाजिरीमा रातो घेरा लगाएर उहाँ हिँड्नुभयो।’

काममै रहेका बेला मन्त्रीले सचिवको हाजिरीमा रातो घेरा लगाएर कर्मचारीको मनोबल गिराउने काम गरेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ।

यो घटनापछि मन्त्री मोदी र सचिव पुष्पकरबीच पटक–पटक भेट भएको छ। तर, हाजिरीको विषयमा कुनै छलफल नभएको स्रोतले बतायो।

‘उहाँहरू हिजो पनि सँगै बसेर काम गरिरहनुभएको थियो। त्यो अघि पनि भेटघाट भएको छ। तर, हाजिरीमा रातो घेरा लगाएको विषयमा कुनै छलफल भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो।
मन्त्री मोदीनिकट स्रोतले भने मन्त्रीलाई जानकारी नै नदिइ सचिव पुष्कर बैठकमा गएको आरोप लगाएको छ। 

नियमले नमिल्ने सरूवालगायतका काम गर्न दबाब दिएपछि मन्त्री मोदी र सचिव पुष्करबीच ‘टकराव’ को स्थिति सिर्जना भएको मन्त्रालय स्रोतको दाबी छ।
‘मन्त्रीज्यूले त मौखिक आदेश दिने हो। सही गर्ने त सचिवज्यूले हो। नियमले नमिल्ने काम गरे भविष्यमा फस्ने कर्मचारी हो,’ मन्त्रालय स्रोतले भन्यो,‘त्यस्ता काम गर्न तयार नभएपछि अहिलेको स्थिति सिर्जना भएको हो।’

कर्मचारीले ऐनले दिएको अधिकारअनुसार काम गर्ने भएकाले हरेक विषयमा मन्त्रीलाई जानकारी गराउन आवश्यक नभएको मन्त्रालयमा कार्यरत एक कर्मचारीले बताए।

मन्त्रालयका कर्मचारीहरू सचिवको हाजिरीमा रातो घेरा लगाउने अधिकार मन्त्रीलाई नरहेको दाबी समेत गर्छन्।

मन्त्रिपरिषदको सिफारिसमा मुख्यसचिवले सचिवलाई कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको उनीहरूको भनाइ छ।

‘मन्त्रिपरिषदको सिफारिसमा मुख्यसचिवले सचिवलाई कारबाही गर्ने हो, मन्त्रीज्यूले हाजिरीमा रातो घेरा लगाउँदा केही फरक पर्दैन,’ मन्त्रालय स्रोतले भन्यो।
मन्त्री मोदीको व्यवहारप्रति मन्त्रालयका अधिकांश कर्मचारी अहिले रूष्ट बनेका छन्।

Tags: