post-slider post-slider

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै 

Image
A A

काठमाडौं- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ। दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ।

आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै रहेको छ। 

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिंचित गरिन्छ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ।

हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन्।

आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ। 

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँ पर्व मनाउने हिन्दु परम्परा छ।

Tags: