post-slider post-slider

पहिलो अन्तर्राष्ट्रिय उडानको तयारीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Image
A A

काठमाडौं- गत वर्ष सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिलो अन्तयर्राष्ट्रिय उडान अवतरणको तयारीमा जुटेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरा चाटर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ।

तर त्यो कम्पनीले आधिकारिक रूपमा चार्टड उडानका लागि अनुमति माग गरिसकेको भने छैन।

ट्रान्स हिमालय कम्पनीले चीनबाट पोखराका लागि चाटर्ड उडानका लागि कुराकानी अगाडि बढाएको बताइएको छ।

‘हाम्रो पोखरा कार्यालयमा ट्रान्स हिमालय कम्पनीले त्यहाँ के के सुविधा छ, विमानस्थलका फिचर के छन् भनेर सोधेको रहेछ,’ प्राधिकरणका उपनिर्देशक जगन्नाथ निरौलाले भनेका छन्। 

उनका अनुसार जुनको २१ र २२ तारेखमा उडान गर्ने तयारी गरिएको छ। यद्यपि यसका लागि औपचारिक पत्र भने आइसकेको छैन।

प्रारम्भिक छलफलअनुसार दुई दिनमा दुईवटा उडान हुने गरेर कुराकानी अघि बढाइएको छ।

आधिकारिकरूपमा अनुमति माग भएको अवस्थामा आफूहरू स्वीकृति दिन तयार रहेको प्राधिकरणको भनाइ छ।

जुन २३ र २४ मा पोखरामा हुन लागेको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलका सहभागीहरू सवार गराएर चीनको चेङ्दुस्थित टिएन्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान पोखराका लागि उड्ने विषयबारे छलफल भइरहेको छ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सबै किसिमका पूर्वाधार तयार रहेको अधिकारीहरूको भनाइ छ।

अघिल्लो वर्ष यो विमानस्थलको ऋण लगानीकर्ता एक्जिम बैंकले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एयरबस ३२० र बोइङ ७५७ एवं अन्य जेट मोडलहरूको उडान र अवतरण हुनसक्ने जनाइएको थियो।

त्यसमा पोखराबाट चेङ्दु, कुन्मिङ, ग्वाङजाओ र अन्य चिनियाँ सहरमा उडान हुनसक्ने भन्दै यो नेपाल र चीनले विकास गरेको ‘हिमालवारपार बहुउद्देश्यीय सम्पर्क सञ्जाल’ को महत्वपूर्ण पूर्वाधार रहेको उल्लेख गरिएको छ।

सुरूवाती चरणमा यो विमानस्थलबाट भिएफआर (भिजुअल फ्लाइट रूल्स) उडानमात्रै गर्न मिल्ने अवस्था थियो।

हाल त्यहाँबाट आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स) विधिबाट पनि सेवा सञ्चालन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतम जुन २१ तारिखमा उडान हुने कुराकानी भएको भए पनि प्राधिकरणले उडान स्वीकृत वा स्लट दिएको निश्चित नभएसम्म उडानको विषय आधिकारिक रूपमा टुंगोमा नपुग्ने बताउँछन्।

उनका अनुसार ट्रान्स हिमालय एभिएसनले माग गरे अनुसार विमानस्थलको सेवा, ग्राउन्ड ह्यान्डलिङलगायतका विषयहरूबारे जानकारी गराइएको छ।

ट्रान्स हिमालय एभिएसन चार्टर्ड उडानको संयोजन गर्ने एजेन्ट हो। यो कम्पनीले विश्वको जुन कुनै देशबाट हुनसक्ने चार्टर्ड उडान संयोजन गर्न सक्ने अधिकारीहरू बताउँछन्।

चिनियाँ एक्जिम बैंकबाट २८ अर्ब रूपैयाँभन्दा बढी ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा आएको झन्डैै ६ महिना हुन लाग्दासमेत पोखरा विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

बुद्ध एयरले भारतका केही सहरहरूमा पोखराबाट हवाइ सेवा उपलब्ध गराउने तयारी गरेको भए पनि भारतीय पक्षले अझै सहमति नजनाउँदा उडान सञ्चालन हुनसकेको छैन।

बुद्धले गत डिसेम्बरमै पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया थालेको हो।

बुद्ध एयरले सुरूमा पोखरालाई बनारससँग जोड्ने अनि भविष्यमा दिल्ली र देहरादुनमा पनि उडान गर्ने योजना बनाएको छ।

त्यसबाहेक हिमालय एयर, कोरियन एयर, बंगलादेश, भुटान, श्रीलंकाले पोखराबाट उडान गर्न चासो व्यक्त गरेको भए पनि सहमति हुन सकेको छैन।

हवाइ सेवा उपलब्ध गराउने कम्पनीहरूलाई आकर्षित गर्नका लागि पोखरामा ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा शतप्रतिशत छुट उपलब्ध गराइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६ सय यात्रु व्यवस्थापन गर्ने क्षमता रहेको बताइएको छ।

त्यहाँ एकपटकमा तीनवटा अन्तर्राष्ट्रिय विमान र ठूलासाना ४–४ गरेर आठवटा आन्तरिक सेवाका विमान रहनसक्ने अधिकारीहरूको भनाइ छ।

धावनमार्ग २ हजार ५ सय मिटर रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एयरबस ए ३२०, बोइङ ७३७–७०० सिरिज वा बोइङ ७५७–२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ।

 

Tags: