post-slider post-slider

संसदको १० समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी

Image
A A

काठमाडौं- संसदको विषयगत समितिका सभापतिका लागि विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता भएका छन्।

सोमबारका लागि तोकिएको सभापति निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन्।

संसदको १० समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।

दशमध्ये ९ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ।

सरकारको प्रमुख घटक दल नेपाली कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ।

जसमध्ये सांसद आरजु राणा देउवाले कृषि  सहकारी तथा प्राकृतिक स्रोत, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईवटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ। सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समिति र जसपाका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा(एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

उद्योग वाणिज्य र श्रम उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

सत्तागठबन्धनका तर्फबाट जनमत पार्टीका अब्दुल खान र विपक्षी दल रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका हुन्।

यो समितिमा खान र पराजुलीबीच प्रतिस्पर्धा हुने भएको छ भने बाँकीमा सर्वसम्म नेतृत्व चयन हुने छन्।

संसदको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

सत्तापक्ष र प्रतिपक्षबीच भएको भागबन्डामा यो समिति माओवादी केन्द्रको भागमा परे पनि कोसी प्रदेसमा समर्थन दिने सर्तमा अन्तिम समयमा राप्रपालाई दिइएको हो।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। ‘मिनी संसद’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन।

हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समितिको बैठक बस्दै आएको छ।

 

Tags: