post-slider post-slider

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन सिटौलाको नाम सिफारिस

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा  सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले निर्णय गरेको छ।

पूर्वमहामन्त्री रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन जिल्ला समितिको बैठकले सर्वसम्मत निर्णय गरेको हो।

जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेससभा क्षेत्र र गाउँ–नगर सभापतिको संयुक्त बैठकले उनलाई उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईंले जानकारी दिए।

शुक्रबार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले उनको नाम प्रस्ताव गरेको थियो। थेवेको प्रस्तावलाई सचिव राम कट्टेलले समर्थन गरे।

लगातार २०७४ र २०७९ सालको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्गदेनसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका सिटौला अब राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर संघीय संसदसम्म पुग्न चाहेका छन्।

फागुनमा रिक्त हुन लागेको २० जना राष्ट्रियसभा सदस्यको पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको छ। २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएर राष्ट्रियसभा सदस्यको अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिना पनि ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदैछन्।

राष्ट्रियसभा अध्यक्षका लागि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरिरहेको छ।

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका तर्फबाट सिटौलाका साथै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, आनन्द ढुंगानालगायतका नेताहरु टिकट पाउन दौडधुप बढाएका छन्।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर उनीहरु अध्यक्ष बन्न चाहेका छन्।

 

Tags: