विश्वकप छनोट प्रतियोगिता : अमेरिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौं- विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।
जिम्बावेको हरारेस्थित मैदानमा समूह ‘ए’ मा रहेको नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको हो।
समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको नेपाललाई विश्वकप छनोटको बाटो सहज बनाउन अमेरिकाविरूद्धको खेल जित्नैपर्ने दबाब छ।
यसअघि आइतबार छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारको सामना गर्नुपरेको थियो।
ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे पनि बलिङतर्फ अपेक्षाअनुसार प्रदर्शन हुन नसक्दा नेपाली टोलीले हारको सामना गर्नुप¥यो।
सुरूमा ब्याटिङ गरेको नेपालले घरेलु टोली जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो।
एकदिवसीय क्रिकेटका लागि राम्रै ठानिएको यो लक्ष्य जिम्बावेले जम्मा २ विकेटको क्षतिमा पूरा गरेर पहिलो खेलमै नेपाललाई हारतर्फ धकेलिदियो।
जिम्बावेविरूद्धको खेलमा सोमपाल कामी र गुलशन १–१ विकेटमात्रै लिन सफल भए भने अरू बलरहरूको प्रदर्शन प्रभावकारी हुनसकेन।
पहिलो खेलमा हारको सामना गर्नु परे पनि बाँकी रहेका खेलमा पुरानै लयमा फर्किने अपेक्षा नेपाली टोलीले गरेको छ।
आइसिसी विश्वकप छनोटसम्म पुग्न नेपालले १२ मध्ये ११ खेल जितेको थियो। त्यही लयमा पुनः फर्किने गरी टिमका सदस्यहरूले मिहिनेत गरेको प्रशिक्षक मोन्टी देसाइले बताएका छन्।
पहिलो खेलमा हारको सामना गर्नुपरेको नेपाललाई विश्वकपका लागि छनोट हुन अमेरिकाका साथै बाँकी रहेका सबै खेल जित्नुपर्ने दबाब छ।
जिम्बावेसँग हार बेहोरिसकेको नेपाली टोलीले अब अमेरिका, वेस्टइन्ड्जि र नेदरल्यान्डको सामना गर्नुपर्ने छ।
यता आफ्नो पहिलो खेलमा हारको सामना गरिसकेको अमेरिका पनि बाँकी खेलहरू जित्नैपर्ने दबाबमा देखिएको छ।
आइतबार सम्पन्न खेलमा अमेरिका टेस्ट मान्यताप्राप्त वेस्टइन्डिजसँग पराजित भएको थियो।
समूह ‘ए’ मा अहिलेसम्म भएको दुई खेलमध्ये जिम्बावे र वेस्टइन्डिजले १–१ खेल जितिसकेको छ।