post-slider post-slider

एमालेलाई सामेल गरेर कार्कीले गठन गरे तीन सदस्यीय मन्त्रिपरिषद

Image
A A

काठमाडौं- कोसी प्रदेसका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेलाई समावेश गरेर तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

कार्कीले नेपाली कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमाले संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेका हुन्।

मन्त्री नियुक्त भएका राई र मगर दुवै जना इलामबाट निर्वाचित प्रदेस सांसद हुन्।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेस प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका छन्।

कांग्रेसबाट विद्रोह गरेर कार्की एमालेको समर्थनमा प्रदेसको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन्। 

गत मंसिरमा निर्वाचन सम्पन्न भएयता कोसीमा मुख्यमन्त्री नियुक्त हुने कार्की पाँचौं नेता हुन्।

केन्द्रमा गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेपछि कांग्रेस नेता शेखर कोइरालानिकट कार्कीलगायतका ८ सांसदले विद्रोह गरेका थिए।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसका ८ र एमालेका ३९ सांसदले समर्थन गरेका थिए।

४७ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेस प्रमुख खापुङले शनिबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

कोसीमा फेरिएको सत्तासमीकरणको बाछिटा केन्द्रको गठबन्धनमा समेत पर्न सक्ने अनुमान गरिएको छ।

यद्यपि कोसीमा उलटफेर भएपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाबीच वर्तमान गठबन्धनलाई नै मजबुत र सुदृढ बनाउने लिखित सहमति भएको छ।

यो सहमतिपछि कोसीमा मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने संकेत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दिएका छन्।

 

Tags: