post-slider post-slider

प्रिन्सिपल हत्याको विरोधमा मधेसका विद्यालयहरू बन्द

Image
A A

काठमाडौं - विद्यालय सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफ हत्याविरूद्ध राष्ट्रिय तथा आवासीय विद्यालय एसोसिएन (एन प्याबसन) मधेसले मंगलबार विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

बारा कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिफल सर्राफको सोमबार दिनदाहाडै गोली हानेर हत्या भएको थियो।

सर्राफ हत्याको विरोधमा एन प्याबसन मधेस प्रदेसले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

एन प्याबसनका प्रदेस अध्यक्ष नन्दन यादव र सचिव जितेन्द्रप्रसाद यादवले विज्ञप्ति जारी गरेर प्रिन्सिपल सर्राफको हत्याको विरोधमा एन प्याबसनअन्तर्गत प्रदेसभरका विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

विज्ञप्तिमा सर्राफ हत्याको कडा निन्दा र भत्र्सना गरिएको छ।

एन प्याबसनले हत्यामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेको छ।

दिनदहाडै हत्या भएको घटनाले कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरीह रहेको एन प्याबसनले ठहर गरेको छ।

‘विद्यालय जस्तो पवित्र संस्थाको सञ्चालकलाई दिनदाहडै हत्या भएको घटनाले शिक्षक, विद्यार्थी, अभिभावकलगाय कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरीह रहेको प्रमाणित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

एन प्याबसनले सर्राफ हत्याका दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा नल्याइए थप चरणबद्ध आन्दोलका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

‘सर्राफको हत्यामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग अपिल गर्दछौं। न्याय दिलाउन ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।

प्रिन्सिपल सर्राफ हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ परेकामध्ये विद्यालयकै एक जना महिला पूर्वकर्मचारी (लेखापाल) रहेको बारा प्रहरीले जनाएको छ।

त्यस्तै ६ जनामध्ये ३ जना भारतीय नागरिक रहेको बाराका एसपी सुरेशप्रसाद काफ्लेले बताएका छन्।

कलैया–६ स्थित मदरसा टोलमा सोमबार दिउँसो करिब १ बजेतर्फ सर्राफमाथि गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका उनको उपचारका क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको थियो।

दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले उनीमाथि गोली प्रहार गरेका थिए।

सर्राफको घाँटी र छातीमा २–२ गोली लागेको थिए।

 

Tags: