post-slider post-slider

जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

मंगलबार भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधरण र भूकम्प प्रभावितहरूसँगको यस्तो बताएका हुन्।

उनले तत्काल बसोवासका लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोवासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए।

पौडेलले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुनसक्ने हुँदा सचेत र सतर्क रहन पनि आग्रह गरे।

यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।

घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन पौडेलसँग आग्रह गरेका थिए।

पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोवास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन्।

 

Tags: