post-slider post-slider

यथास्थितिमा बजेट पारित हुन नदिने सत्तारुढ दल एकीकृत समाजवादीको निर्णय

Image
A A

काठमाडौं- सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी) ले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित हुन नदिने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेटमा भएको असन्तुलनलाई नसच्चाइ यथास्थितिमा पारित हुन नदिने निर्णय भएको जानकारी दिए।

बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री, अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय बैठकले गरेको उनले बताए।

पाण्डेले असन्तुलित विषयलाई सन्तुलित बनाएरमात्रै बजेट पारित गर्न सकिने उल्लेख गरेका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रमम अर्थमन्त्री संशोधन गर्ने संकेत देखाएकाले संशोधन हुनेमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ।

उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि सामानरूपमा वितरण हुनुपर्ने उल्लेख गरे।

बैठकमा बजेटमा भएको असन्तुलनबारे सबै सदस्यहरूले कडारूपमा धारणा राखेको पाण्डेले बताए।

एकीकृत समाजवादीका सांसदहरू सरकारले ल्याएको बजेटको विरोधमा उत्रिएकै बेला अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले पनि यथास्थितिमा पारित हुन नदिने चेतावनी दिएको छ।

सत्तारुढ दलबाटैे विरोध हुन थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको छ।

 

Tags: