post-slider post-slider

अफगानिस्तानसँग हारेपछि आक्रोशमा पाकिस्तानका पूर्वक्रिकेटर, वसिम भन्छन्– ८–८ किलो खान्छन्

Image
A A

काठमाडौं- आइसिसी क्रिकेट विश्वकपमा सोमबार अफगानिस्तानले पाकिस्तानलाई चेन्नईको एमए चिदंबरम स्टेडियममा ८ विकेटले पराजित गर्‍यो।

क्रिकेट इतिहासमा पाकिस्तानविरूद्ध अफगानिस्तानको यो पहिलो जित हो। यसअघि अफगानिस्तानले पाकिस्तानलाई कहिल्यै पनि पराजित गर्न सकेको थिएन।

जारी विश्वकपमा पाकिस्तानले अहिलेसम्म कुल पाँच म्याच खेलेकोमा तीनमा हारको सामना गर्नु परेको छ। भारत, अस्ट्रेलिया र अफगानिस्तानसँग पाकिस्तान पराजित भएको हो।

तेस्रो हारपछि सेमिफाइनलसम्म पुग्ने पाकिस्तानको यात्रा कठिन देखिन्छ।

अस्ट्रेलिया र भारतसँगको हारपछि पाकिस्तान टिम आफ्नो घरमा निशाना बनेको थियो। तर, अफगानिस्तानसँगको पराजयपछि पाकिस्तानका क्रिकेट प्रशंसकहरू आक्रोशित दिएका छन्।

पाकिस्तान टिमका कप्तान बाबर आजम, कोच मिकी आर्थर र पाकिस्तानी क्रिकेट बोर्डसँग तिखा प्रश्नहरू सोधिँदै छ।

पाकिस्तानका पूर्वक्रिकेटरहरूले आफ्नो टिमको चर्को आलोचना गरेका छन्।

पाकिस्तानले अफगानिस्तानलाई २८३ रनको लक्ष्य दिएको थियो। जसलाई अफगानिस्तानले दुई विकेट गुमाएर ४९ औं ओभरमा पूरा गर्‍यो।

यो जितका साथै अफगानिस्तान अंकतालिकाको छैटौं स्थानमा आइसकेको छ। यसअघि अफगानिस्तान अंकतालिकामा सबैभन्दा अन्त्यमा रहेको थियो। अब अंकतालिकामा इंग्ल्यान्ड सबैभन्दा अन्त्य अर्थात दशौं स्थानमा पुगेको छ।

यो विश्वकपमा अफगानिस्तानले पाकिस्तानका साथै इंग्ल्यान्डलाई पनि पराजित गरिसकेको छ। उसले अहिलेसम्म पाँच खेलेको छ। जसमध्ये दुईमा जित हासिल भएको छ।

एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलोपटक पराजित गरेको हो। यसअघि सातपटक आमुन्ने सामुन्ने भएकोमा सबैपटक पाकिस्तानले बाजी मारेको छ।

विश्वकपमा अफगानिस्तानको यो तेस्रो जित हो। योपालि पाकिस्तान र इंग्ल्यान्डलाई हराउनुअघि २०१५ को विश्वकपमा उसले स्कटल्यान्डलाई पराजित गरेको थियो।

शोएब अख्तरको आक्रोश

पाकिस्तानको प्रदर्शनलाई हेर्ने हो भने उसको यो हार अप्रत्याशित भने पक्कै होइन। 

तर, पाकिस्तानका पूर्वक्रिकेटरहरू पाकिस्तान टिम लयभन्दा विल्कुलै बाहिर रहेको टिप्पणी गरेका छन्।

पछिल्ला केही वर्षहरूमा पाकिस्तान क्रिकेट बोर्ड सञ्चालनको तरिकाबाट पनि खेल प्रभावित भएको उनीहरूको भनाइ छ।

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर भन्छन्,‘अफगानिस्तान हाम्रो भाइ हो। र, हामीले भाइसँग कुटाइ खाएको छौं, यो ठीक हो। म गुरबाज र इब्राहिमका लागि ज्यादै खुसी छु। दुवै जनाले विश्व क्रिकेटमा आफूलाई सावित गरेका छन्।’

अफगानिस्तान क्रिकेट टिमले ज्यादै कठिन परिस्थितिको सामना गर्दै यो लक्ष्य हासिल गरेको अख्तरको भनाइ छ।

अख्तर भन्छन्,‘अफगानिस्तानका नागरिक बिचरा पचास वर्षदेखि कुन अवस्थामा छन्? इन्फ्रास्ट्रक्चर छैन, पछिल्लो दुई वर्ष बहुत कठिनाइका साथ गुज्रिएको छ। यो सबैचिजका बीच अफगानिस्तान आउँछ र ८ विकेटले पाकिस्तानलाई हराउँछ। क्रिकेट कसरी खेल्ने अफगानिस्तानले पाकिस्तानलाई बताइदिएको छ।’

क्रिकेटको विश्लेषण गर्दै अख्तरले अफगानिस्तान र पाकिस्तानको परिस्थितिकोे पनि तुलना गरेका छन्।

अफगानिस्तानको अर्थव्यवस्था पाकिस्तानभन्दा राम्रो भइरहेको उनले बताएका छन्।

‘अफगानिस्तानको अर्थव्यवस्था हाम्रोभन्दा राम्रो भइरहेको छ, त्यहाँको मुद्रा हाम्रोभन्दा राम्रो भइरहेको छ। र, अब क्रिकेट पनि हामीभन्दा राम्रो छ। म अफगानिस्तानको प्रदर्शनबाट ज्यादै खुसी छु। तपाईंमा जोस, हुटहुटी छँदैछ त्योभन्दा महत्वपूर्ण सही व्यक्तिलाई सही ठाउँमा ल्याउनु हुन्छ,’ उनले भनेका छन्।

अख्तरले पाकिस्तान टिमको यो स्थितिका लागि क्रिकेट बोर्डलाई जिम्मेवार ठहर गर्दै उनले क्रिकेटको अनुभव नै नभएका मानिसलाई व्यवस्थापनमा राखिएको आरोप लगाएका छन्।

उनी भन्छन्,‘टिममा कुन चाहिँ क्रिकेटर त्यस्तो छन् जसबाट कोही पे्ररित हुनसकोस्? मैले पाकिस्तानका लागि खेलेको छु र यसखाले हारलाई हेर्दा मुटु चिराचिरा हुन्छ। यो टिममा जितका लागि जुनुन नै छैन।’

अफगानिस्तानसँग पराजय भोगेपछि पाकिस्तानको सेमिफाइनलसम्म पुग्ने यात्रा कठिन भइसकेको छ। विश्वकपमा अगाडि बढ्नका लागि उसले अबको सबै खेल जित्नुपर्ने हुन्छ।

पाकिस्तानले अब न्युजिल्यान्ड, इंग्ल्यान्ड, साउथ अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ।

वसिम अकरम भन्छन् – हाम्रो खेलाडी ८–८ किलो खान्छन्

विश्कपमा पुग्नुअघि पाकिस्तान टिम एकदिवसीय रैंकिङमा पहिलो स्थानमा थियो।

पाकिस्तानका पूर्वकप्तान वसिम अकरमले टिमको यो रैंकिङमाथि प्रश्न उठाएका छन्।

पहिलो स्थानमा रहनेगरी पाकिस्तान टिमको प्रदर्शन नभएको उनले बताएका छन्।

पाकिस्तानको एउटा टेलिभिजन च्यानलमा विश्लेषण गर्दै अकरमले भने,‘हामी पछिल्लो ६–८ महिनादेखि सनिरहेका थियौं–पाकिस्तान टिम नम्बर एक हो। यो कस्तो नम्बर वन हो? म अफगानिस्तान टिमको क्षमता र शैलीबाट ज्यादै प्रभावित भएको छु। उनीहरूको क्रिकेट हरेक दिन राम्रो भइरहेको छ। पहिले विश्व च्याम्पियनलाई हरायो र अब हामीलाई।’
अकरमले पाकिस्तान टिमका खेलाडीहरूको फिटनेसमाथि पनि प्रश्न उठाएका छन्।

‘हाम्रो टिमको दुई वर्षदेखि फिटनेस टेस्ट भएको छैन। केटाहरूको मुख त हेर्नुस्, ८–८ किलो खाना खाइरहेको जस्तो देखिन्छन्। फिटनेस भन्ने केही हुन्छ, त्यसका लागि फिटनेस टेस्ट हुन्छ। फिटनेस टेस्टका लागि दुई वर्षदेखि भन्दै आइरहेका छौं, तर कुनै सुनुवाइ नै छैन,’ उनले भने।

पूर्वक्रिकेटर मोइन अली पनि फिटनेसका लागि कुनै योजना नै नदेखिएको टिप्पणी गरेका छन्।

उनी भन्छन्,‘टिमको फिटनेसलाई लिएर कुनै योजना छैन। फिल्डिङ ज्यादै खराब छ। पाकिस्तानले श्रीलंकाको टुर गर्‍यो। त्यहाँबाट टिम ड्रेनआउट भइसकेको छ। हाम्रो खेलाडी थाकेको देखिन्छन्।’

अफगानिस्तान टिम प्रतिस्पर्धामा सबै तरिकाले पाकिस्तानमाथि हाबी रह्यो। पाकिस्तानका ब्याटरलाई अफगानिस्तानका स्पिनरलाई सामना गर्न कठिनाइ भयो भने अफगानिस्तानका ब्याटरसामु पाकिस्तानका बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान मिस्बाह उल हक अफगानिस्तानी स्पिनरको प्रशंसा गरेका छन्।

उनी भन्छन्,‘अफगानिस्तानका स्पिन बलरहरूको क्षमता ज्यादै राम्रो थियो। पाकिस्तानका ब्याटरहरूलाई सिंगल निकाल्न पनि मिहिनेत गर्नुपर्‍यो।’

निराश बाबर

पूर्वक्रिकेटर रमीज राजा विश्वकपमा अफगानिस्तानसँगको हार पाकिस्तानका लागि कडा चोट भएको प्रतिक्रिया दिएका छन्।

कप्तान बाबर आजम यो हारपछि निराश थिए।

उनले भने,‘पाकिस्तानलाई यति ठूलो हार कहिल्यै भोग्नुपरेको थिएन। तर, अफगानिस्तान यो जितको हकदार थियो। चेन्नईको पिचमा आठ विकेटले जित्नु, योभन्दा राम्रो प्रदर्शन हुनसक्दैन। योभन्दा राम्रो प्रदर्शन अफगानिस्तान क्रिकेट टिमका लागि कहिल्यै हुँदैन। ब्याटिङको यही स्तर रह्यो भने अफगानिस्तान टिमलाई अगाडि बढ्ने सम्भावना अरू बढी हुन्छ।’

पाकिस्तान विश्व च्याम्पियन रहिसकेको छ र आफ्नो घातक बलिङका लागि चिनिन्छ।

अफगानिस्तान टिमलाई पाकिस्तानलाई लिएर कुनै डर नदेखिएको पूर्वक्रिकेटर रमीज बताउँछन्।

 

 

Tags: