post-slider post-slider

चार महिनामै पाँच एआइजीको सरूवा

Image
A A

काठमाडौं- नेपाल प्रहरीका एआइजीरूको सरूवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पाँच जना एआइजीहरूको सरूवा गर्ने निर्णय गरेको हो।

उनीहरूको पदस्थापन भएको चार महिनामै मन्त्रिपरिषदले सरूवा गरेको हो।

जसअन्तर्गत उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा लगिएको छ।

उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआइजी दीपक थापालाई ल्याइएको छ।

प्रशासन विभागमा एआइजी मीरा चौधरी आएकी छन्। यसअघि उनी कार्य विभागमा थिइन्।

त्यस्तै मानवस्रोत विभागका प्रमुख एआइजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र त्यहाँ कार्यरत एआइजी टेकप्रसाद राईलाई मानवस्रोत विभागमा सरूवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषदले सरूवा गरेको हो।

प्रहरीमा आठ जना एआइजी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एआइजी किरण बज्राचार्य, अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङ र प्रदेस समन्वय विभागका सुदीप गिरीको भने सरूवा भएको छैन।

बज्राचार्य र गिरीको २० चैत २०७९ मा पदस्थापना भएको थियो। प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीको सरूवा कम्तीमा एक वर्षमा गरिन्छ।

तर, प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ज्ञवालीबीचको आन्तरिक टकरावका कारण एआइजीको सरूवा चार महिनामै भएको हो।

 

Tags: