post-slider post-slider

उच्च शिक्षा चुनौतीको सँघारमा : प्रधानमन्त्री प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा पुगेको बताएका छन्।

शुक्रबार ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रिकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले शिक्षा प्रणालीलाई थप सुधार गर्दै समयानुसारको पाठ्यक्रम र शैक्षिकस्तर बढाउँदै लैजानुपर्ने बताए।

मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छाडेर बाहिरिइरहेको उनको भनाइ छ।

प्रचण्डले नेपालमा विश्वविद्यालय खोल्ने होडभन्दा पनि ठूलो मात्राको संकट पर्याप्त विद्यार्थीको अभावले निम्त्याएकोले यसमा गम्भीर भएर लाग्नुपर्ने बताए।

उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय नबनाएर युवाहरू मुलुक छाडेर विदेश गएको गुनासो गरेर केही फाइदा नहुने उनले प्रष्ट पारे।

‘संसारको विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज, अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको छ। अन्तरिक्ष विज्ञान, न्यानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा अध्ययन हुन थालेको छ,’ उनले भने,‘नेपालले आफूलाई यो प्रतिस्पर्धामा सामेल नगर्ने र आफ्नो उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास नगर्ने हो भने हाम्रा युवाहरू लाखौंको संख्यामा अध्ययनकै लागि मुलुक छोडेको गुनसो मात्रै गरेर परिस्थितिमा तात्विक भिन्नता आउने छैन।’

 

Tags: