post-slider post-slider

सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

Image
A A

काठमाडौं- भारत उत्तराखण्डस्थित सिल्क्यारा टनलमा फसेका ४१ मजदुरहरूको १७ दिनपछि सकुशल उद्धार गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री  पुष्पकरसिंह धामी र भारतीय जनता पार्टीले सामाजिक सञ्जाल ट्विटरमा ४१ मजदुरको सकुशल उद्धार गरिएको जनाएको हो।

उद्धार गरिएका मजदुरहरूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुराकानीसमेत गरेका छन्।

मुख्यमन्त्री धामीका अनुसार प्रधानमन्त्री मोदीले उद्धार गरिएका मजदुरहरूसँग फोनमा कुरा गरेर मजदुरहरूको स्वास्थ्यबारे जानकारी लिएका छन्।

उनीहरूको उद्धार सुरू भएसँगै सुरूङ आसपासमा खुसियाली मनाइएको छ।

सुरूङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको थियो।

उद्धारकर्ताहरूले ती मजदुरहरूलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए।

नजिकै गएको एउटा पहिरोका कारण ढुंगा र माटो थुप्रिएपछि ती मजदुररू सुरूङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ।

गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माण सुरूङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरूङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको मुख्यमन्त्री धामीले बताएका थिए।

फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरूङ निर्माणमा संलग्न थिए।

अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत भित्र फसेका ती मजदुरहरूका लागि अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए।

फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो।

अधिकारीहरूका अनुसार नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरूङमा दुर्घटना भएको थियो।

 

Tags: