post-slider post-slider

प्रचण्ड–जिनपिङबीच के कुराकानी भयो?

Image
A A

काठमाडौं- एसियाली खेलकुदको उदघाटनका दिन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भयो।

संवादमा ‘एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने’ विषयमा दुवै जनाबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले एक निकट छिमेकीका रूपमा नेपाल बढ्दो व्यापार, लगानी सम्पर्क सञ्जाल र सामाजिक आर्थिक सहकार्यबाट लाभ लिन इच्छुक रहेको जनाइएको छ।

विज्ञप्तिमा राष्ट्रपति सि जिनपिङले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको एवं नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक विकासमा चीनले सघाउने प्रतिबद्धता जनाएको उल्लेख छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सिलाई उद्धृत गर्दै लेखेको छ,‘दुई पक्षले सँधै एक अर्कालाई आपसी अहम् स्वार्थ र मुख्य चासोलाई बुझ्नुका साथै त्यसमा सहयोग गर्नुपर्छ एवं द्विपक्षीय सम्बन्धको राजनीतिक जगलाई निरन्तर अडिग राख्नुपर्छ।’

प्रचण्डले ताइवान र तिब्बत चिनियाँ भूभागको अक्षुण्ण अङ्ग रहेको र नेपालले कुनै शक्तिलाई चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर पार्नेगरी आफ्नो भूमि प्रयोग गर्न नदिने बताएको सिन्ह्वाको समाचारमा उल्लेख छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले ट्विटरमार्फत लेखेकी छन्,‘चीन र नेपालले दुई भिन्न आकारका देशहरूबीचको समानता र आपसी लाभको सहकार्यको एउटा राम्रो उदाहरण पेस गरेका छन्।’

नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेको बताइएको छ।

एक साता लामो भ्रमण

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रचण्ड अमेरिकाबाट ६ असोजमा सोझै चीन पुगेका हुन्।

उनी त्यहाँ १३ असोजसम्म रहनेछन्।

शिनबार सी र प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरीय र ‘वन टू वन’ भेटवार्ता भएको थियो।

हान्झाउबाट आफ्नो भ्रमण सुरू गरेका प्रचण्डले आइतबार बेइजिङमा ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई सम्बोधन गरेका छन्।

सोमबार बेइजिङमै चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा कुराकानी हुने कार्यक्रम रहेको छ।

त्यसक्रममा विभिन्न द्विपक्षीय मुद्दामा छलफल हुने बताइएको छ।

प्रचण्डले बेइजिङमै त्यहाँको राष्ट्रिय जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग समेत भेट्ने कार्यक्रम छ।

के छन् एजेन्डा?

औपचारिक भ्रमणका क्रममा छलफल र सहमति हुने एजेन्डाबारे नेपालको परराष्ट्र मन्त्रालयले केही खुलाएको छैन।

तर, प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्ने क्रममा ‘ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सहमति हुने विश्वास गरेको’ बताएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले ऊर्जा, व्यापार सन्धि पुनरावलोकन, लगानी, उत्तरी नाका जोड्ने सडक विस्तार, कृषि, प्रविधिलगायतका विषयमा छलफल हुने बताएका छन्।

चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भू–भाग बेवास्ता गरिएको भन्दै त्यो विषयले समेत ‘कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने’ परराष्ट्रमन्त्री एनपी साउदले बताएका थिए।

उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डको नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन्।

यो भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ।

को–को छन् भ्रमण टोलीमा?

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि रहनेछन्।

त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरूका साथै व्यापारिक समुदायको प्रतिनिधिहरू पनि भ्रमण टोलीमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

Tags: