post-slider post-slider

गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताको अपिल, जनमतले गरेन हस्ताक्षर

Image
A A

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।

११ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन शीर्ष नेताहरुले संयुक्त अपिल गरेका हुन्।

गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार सबैको साझा उम्मेदवार भएको अपिलमा उल्लेख छ।

११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचन गठबन्धनलाई थप संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व सुनिश्चित गर्ने अवसर भएकाले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको शीर्ष नेताहरुको भनाइ छ।

संयुक्त अपिलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन्।

यता सत्ता गठबन्धनमै रहे पनि जनमत पार्टीका अध्यक्ष सिके राउतले शीर्ष नेताहरुको संयुक्त अपिलमा हस्ताक्षर गरेका छैनन्।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा भएको सिटको भागबन्डाप्रति असहमति जनाउँदै  जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेसमा आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ।

राष्ट्रिय पार्टी नहुँदा पनि एकीकृत समाजवादीलाई दुई सिट दिइएको र आफूहरुलाई भागबन्डामा नराखिएकोप्रति उसले असहमति जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा कम्तिमा एक सिट आफूहरुले पाउनुपर्ने अडान जनमत पार्टीले राखेको थियो।

तर सिटको बाँडफाँड हुँदा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउँदा जनमतको भागमा एक सिट पनि परेको थिएन।

सत्ता साझेदार रहे पनि राष्ट्रियसभा निर्वाचनमा यो पार्टीले एक्लै प्रतिस्पर्धा गरिरहेको छ।

यसअघि बारामा भएको उपनिर्वाचन र उपराष्ट्रपति निर्वाचनमा पनि जनमत पार्टीले गठबन्धनका विरुद्ध आफ्नो उम्मेदवार खडा गरेको थियो।    

Tags: