post-slider post-slider

भारतको 'रियल टाइम मार्केट' मा विद्युत बेच्न नेपालले पायो अनुमति

Image
A A

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स) को रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न पहिलोपटक अनुमति पाएको छ।

भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घन्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न पाउने भएको हो।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिरणले शनिबार रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो।

यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घन्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ।

भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत आयात÷निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाट तल्लो मोदी र २४.२५ मेगावाट काबेली बी १ जलविद्युत आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।

यी दुवै आयोजनाको विद्युत अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो। डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिंदै थियो।

डे अहेड नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए।

अब दुई आयोजनाको विद्युत डे अहेड र आवश्यक्ताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने उनको भनाइ छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ।

प्राधिकरणले डे अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ।

एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४४० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणले चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

 

Tags: