post-slider post-slider

ललिता निवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

Image
A A

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए। सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ। ललिता निवास प्रकरणमा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरिसकेको छ ।

उनीहरूविरुद्ध संगठित अपराधमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ। २४ असारमा पक्राउ परेका सरकारका सचिव कृष्णबहादुर राउत भने सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । 

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

Tags: