post-slider post-slider

किन घटिरहेको छ पेट्रोलियम पदार्थको आयात?

Image
A A

काठमाडौं-  नेपालमा पेट्रोलियम पदार्थको आयात घटेको छ।

नेपाल राष्ट्र बैंकले केही दिअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ९.६ प्रतिशतले घटेको हो।

यद्यपि आयात भएका प्रमुख वस्तुको सूचीमा पेट्रोलियम पदार्थ अझै पनि पहिलो नम्बरमै रहेको छ।

नेपाल आयल निगमका अधिकारीहरूका अनुसार केही इन्धनको आयात लगातार घटिरहेको छ। त्यसरी आयातको परिणाम घट्नेमा मुख्यतः डिजल र खाना पकाउने एलपी ग्यास छन्।

निगमका अधिकारीहरू ढुवानी र विकास निर्माणका काममा डिजलको प्रयोग उच्च हुने बताउँछन्।

त्यस्तै घर तथा होटल–रेस्टुराँमा खाना पकाउने एलपी ग्यासको प्रयोग धेरै हुन्छ।

गत आर्थिक वर्षमा पनि त्यसअघिको आर्थिक वर्षको तुलनामा हवाइ इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको आयात घटेको थियो।

त्यसबेला डिजल र मट्टितेलको आयात परिणाम २० प्रतिशतभन्दा बढीले घटेको थियो।

विकास निर्माणका गतिविधिमा आएको सुस्तता र नेपालभन्दा सीमावर्ती भारतीय सहरमा रहेको मूल्यको अन्तरका कारण डिजलको खपतमा कमी आएको निगमका प्रवक्ता मनोज ठाकुरको भनाइ छ।

त्यस्तै केही अंश ठूला सवारीहरूतर्फ समेत विस्तारै इलेक्ट्रिक सवारीसधानहरू देखिन थाल्नु पनि एक कारण रहेको उनले बताए।

देशको विकास बजेट कम खर्च भइरहेकाले डिजलको खपत न्यून हुनु स्वाभाविक रहेको जानकारहरूको भनाइ छ।

यो आर्थिक वर्षको पाँच महिनामा पुँजीगत खर्च १२ प्रतिशतमात्र हुनसकेको सरकारी विवरण छ।

प्रदेसहरूतर्फ पहिलो चौमासिकमा ६ प्रतिशतमात्रै पुँजीगत खर्च भएको सरकारी विवरणहरूले देखाएका छन्।

निगमका अधिकारीहरू विकास निर्माणका गतिविधि कसरी बढ्छन् भन्ने कुराले अहिलेको अवस्थामा के परिवर्तन हुन्छ भन्ने तय गर्ने बताउँछन्।

बिहारको रक्सौलभन्दा नेपालतर्फ सस्तो भए पनि अन्य मुख्य नाकाहरूमा पेट्रोलसमेत भारतमा भन्दा नेपालमा महँगो रहेको निगमका अधिकारीहरूको भनाइ छ।

नेपालमा खाद्यान्नदेखि अन्य अधिकांश वस्तुहरूको ढुवानी भारतबाट र भारत हुँदै हुनेगर्छ र त्यसमा उच्च मात्रामा डिजल खपत हुने बताइन्छ।

धेरैजसो ढुवानीकर्ताहरूले सोही मूल्य अन्तरका कारण नेपालका लागि चाहिने डिजल सक्दो भारतमै भरेर आउने गरेको निगमका अधिकारीहरू बताउँछन्।

नेपालमा विद्युत आपूर्ति स्थिर हुँदा जाँदा खाना पकाउने ग्यासको आयात चार प्रतिशत जतिले कम भएको निगमले जनाएको छ।

निगमले ६० देखि ७० प्रतिशत घाटा खाना पकाउने ग्यासमा बेहोर्दै आएको छ। अहिले पनि खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३ सय रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।

अमेरिकी डलरमा खरिद हुने भएकाले डलरसँग कमजोर अवस्थामा रहेको नेपाली रूपैयाँका लागि हाल खपत घट्दासमेत उच्च आर्थिक भार रहेको अधिकारीहरू बताउँछन्।

निगमका अधिकारीहरूले परिणाम घट्दासमेत सोही कारणले खर्च भने उल्लेख्य नघटेको बताउँछन्।

भन्सार विभागको विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८० / ८१ को पहिलो पाँच महिनामा सवा ५ अर्ब रूपैयाँ बराबरको पट्रोलियम पदार्थको आयात घटेको देखिन्छ।

आर्थिक वर्ष २०७९ / ८० मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा झन्डै २७ अर्ब रूपैयाँले पेट्रोलियम पदार्थको आयात घटेको थियो।

त्योबेला डिजलको आयात सबैभन्दा धेरै झन्डै २० प्रतिशतले घटेको थियो।

ग्यासको खपतसमेत ४ प्रशितले घटेको थियो। मट्टितेलमा २४ प्रतिशतको कमी र हवाइ इन्धनमा भने १४ प्रतिशतको वृद्धि देखिएको थियो।

पेट्रोलको बिक्रीमा ८ प्रतिशतले कमी देखिएको थियो।

नेपालमा सार्वजनिक सवारी साधनमा समेत विद्युतीय गाडीहरू प्रयोग हुन थालेको देखिनु र हजारौंको संख्यामा कारहरू भित्रनुलाई अधिकारीहरूले पेट्रोलियम पदार्थको खपत घट्नुको अर्को स्वाभाविक कारण मानेका छन्।

नेपालमा मासिक झन्डै ५० देखि ५५ हजार किलोलिटर पेट्रोल खपत हुने गरेको बताइन्छ।

त्यसैगरी डिजल १ लाख २० हजारदेखि १ लाख ३० हजार किलोलिटरबीचमा, मट्टितेल ३ सयदेखि ४ सय किलोलिटर, हवाइ इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरसम्म खपत हुने गर्छ।

खाना पकाउने एलपी ग्यासको हकमा ४४ हजारदेखि ४५ हजार मेट्रिक टन मासिक खपत देखिन्छ।

 

Tags: