post-slider post-slider

‘दुईपटक पारित भएको नागरिकता विधेयक खारेज गर्न सम्भव थिएन’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईपटक पारित भएको विधेयक फेरि संसदमा ल्याउनु संसदको अपमान हुने बताएका छन्।

नागरिकता विधेयकको विषयमा संसदमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमका जवाफ दिँदै प्रचण्डले संसदबाट दुईपटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नभएको पनि बताए।

संसदबाट दुईपटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरण प्रक्रियामा गएको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारे।

‘संसद पनि अविछिन्न उत्तराधिकारीवाला संस्था हो। एउटा सदनले विधिसम्मत पारित गरेको विषयलाई अर्को सदनले मान्दैन भन्न मिल्दैन र पाउँदैन। मिचिएका संविधानलाई ट्र्याकमा ल्याउनुस्, हामीसँग सबैभन्दा वैधानिक उपाय के हो?’ प्रचण्डले भने,‘एउटा राष्ट्रपतिले संविधानको पालक र संरक्षकका हैसियतमा दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति खारेज गर्न सम्भव थिएन। फेरि फिर्ता पठाउन पनि सम्भव थिएन। दुईपटक पारित गरेको विधेयक हो, राष्ट्रपति कार्यालयको दराजमा थियो।’

नागरिकता विधेयक प्रमाणीकरणका विषयमा तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको प्रचण्डको भनाइ थियो।

‘नागरिकता विधेयक संसदबाट दुई–दुईपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा गएको थियो। राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरिकन होल्डमा राख्नुभयो। त्यतिबेला पनि कुरा उठेको हो, संविधानको मर्म र भावनाविपरित राष्ट्रपतिले होल्ड गर्नुभयो। होल्ड गर्नुपर्थेन। संविधान मिचिएको थियो,’ उनले भने,‘राष्ट्रपतिबाटै संविधानमा स्पष्ट राखिएको प्रावधान एकपटक सदनबाट पास भएको विधेयकलाई फिर्ता पठाउन सक्ने नोटसहित अर्कोपटक पनि पारित भएर गएपछि अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था हो। त्यो संवैधानिक व्यवस्थाको हिजो उल्लंघन भयो। संविधानको मर्ममाथि बडो निर्मम ढंगले प्रहार भयो।’

प्रधानमन्त्री प्रचण्डले तत्कालनि राष्ट्रपतिका कारण संविधान संकटमा परेको बताए।

 

 

Tags: