post-slider post-slider

हुण्डी कारोबारको अपराधमा १७ जनाविरूद्ध साढे २ खर्बबढीको मुद्दा

Image
A A

काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

राष्ट्र बैंक ऐन, २०५८ विरूद्ध र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हुण्डी कारोबार र संगठित अपराधमा मुद्दा दायर गरेको हो।

सिआइबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।

छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको थियो।

व्यवसायी पोद्दारले पनि श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

पोद्दारको कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ।

उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन तस्करी प्रकरणमा पनि छानबिनको दायरमा आएका थिए।

प्रहरीले हुण्डी कारोबार र संगठित अपराधको मुद्दामा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाएको छ।

त्यस्तै फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुद्रे तामाङ र अंशुल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

यो मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादीबाट २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रूपैयाँ मागदाबी गरेको छ।

 

Tags: