post-slider post-slider

रघुवीर महासेठलाई बालेनको दैनिक एक ट्रक धुलो उपहार!

Image
A A

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन्। 

बालेनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महासेठलाई धुलो पठाउने बताएका हुन्।

सडक निर्माण अलपत्र पार्दा महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने निर्णय लिएको उनले बताएका छन्।

साहले शनिबार सडक विभाग अगाडि एक ट्रक धुलो राखिदिएको भिडियोसमेत पोष्ट गरेका छन्। 

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला,’ साहले लेखका छन्, ‘विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ।’

काठमाडौंमा हुने आधा भन्दाबढी प्रदुषणमा त्यहाँकै धुलोको हात रहेको र त्यसले गर्दा महानगरबासीले धुलोधुँवा खानु परेको बालेनले उल्लेख गरेका छन्।

‘त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ,’ साहले भनेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नु होला।’

Tags: