post-slider post-slider

पाकिस्तान र इरानबीच किन चर्कियो तनाव?

Image
A A

काठमाडौं- पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलोचिस्तान स्रोतको हिसाबले सबैभन्दा धनी भएर पनि देशकै सबैभन्दा कम विकसित प्रान्त हो।

बलोचिस्तान नामले एउटा प्रान्तलाई मात्रै नभएर अफगानिस्तानसमेत समेटिएको ठूलो क्षेत्रलाई जनाउँछ।

विगत केही सातामा पाकिस्तान र इरान दुवैले यस क्षेत्रमा रहेका लडाकुहरूलाई निसाना बनाएर एकअर्काका सीमामा हमला गरे।

दुई देशबीचको बढ्दो द्वन्द्व बुझ्नका लागि पृथक सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको बलोचिस्तान के हो भनेर यहाँ चर्चा गरिएको छ।

बलोचिस्तान कहाँ छ र यो किन महत्वपूर्ण छ?

बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ।

यो प्रान्तले पाकिस्तानको कूल भुभागको ४१ प्रतिशत भाग ओगटेको छ। तर, देशको २४ करोड जनसंख्यामध्ये यो ठाउँमा जम्मा ६ प्रतिशत मानिसमात्रै बसोबास गर्छन्।

यहाँको इतिहास गृहयुद्ध, आतंकवाद र मानवाधिकार उल्लंघनका घटनाहरूका कारण धुमिल छ।

बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ।

यो क्षेत्रको नाम यहाँ सयौं वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो।

बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसंख्या भएका आदिवासी हुन्।

कैयौं बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन्।

ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो।

चीनको अनुदानमा बनिरहेको अर्बौंं लगानीको परियोजना ‘चाइना पाकिस्तान इकोनोमिक करिडोर’ पनि यही क्षेत्रमा छ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को एक अङ्ग हो।

यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्वपूर्ण ‘चेकप्वान्ट’ बन्ने ठानिएको छ।

यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ।

साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन्।

बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको ‘रेको डिग’ मा क्यानाडाको खानी सञ्चालन गर्ने कम्पनी ‘ब्यारक गोल्ड’ को ५० प्रतिशत स्वामित्व छ।

अशान्तिको कारण के हो?

पाकिस्तान र इरान दुवैतर्फ रहेका स्थानीय समूहहरू बलोचिस्तानको स्वायत्तताको माग गर्दै दशकौंदेखि संघर्ष गरिरहेका छन्।

दुई देशबीचको ताजा तनाव जनवरी १६ मा इरानले पाकिस्तानमा आक्रमण गरेपछि सुरू भएको हो।

इरानी भूमिबाट भएको आक्रमणमा दुई बालबालिका मारिएको पाकिस्तानले बताएको छ।

इरानी भूमिमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेर पाकिस्तानले त्यसको बदला लियो। इरानका अनुसार त्यसमा ९ जनाको मृत्यु भयो।

इरानले आफ्नो देशविरूद्ध सक्रिय रहेको जैश अल–अदल लडाकु समूहलाई लक्षित गरेर उक्त आक्रमण गरिएको दाबी गरेको छ।

पाकिस्तानले भने इरानमा रहेका दुईवटा लडाकु समूहहरू बलोचिस्तान लिबरेशन आर्मी र बलोचिस्तान लिबरेशन फ्रन्टका मानिसहरू लुकेर बसेको स्थानमा हमला गरिएको जनाएको छ।

पाकिस्तानले सन् १९८० पछि पहिलोपटक इरानी भूमिमा आक्रमण गरेको हो।

गाजामा लडाइँ चर्किँदै गएका कारण मध्यपूर्वमा जारी तनावबीच दुई देशबीच द्वन्द्व देखिएको हो।

इरानले पाकिस्तानमा मात्रै आक्रमण गरेको भने होइन। उसले एकै दिन इराक र सिरियाका विभिन्न स्थानमा पनि आक्रमण गरेको थियो।

पाकिस्तानको बलोचिस्तान प्रान्तका प्राकृतिक स्रोतहरूमा अत्यधिक दोहन भइरहेको बताइन्छ र यो क्षेत्रमा द्वन्द्वको प्रमुख कारण पनि यही विषय हो।

विशेष गरी बलोचहरूले यहाँको स्रोतको सरकारले अत्यधिक दोहन गरेको तर विकासलाई ध्यान नदिएको आरोप लगाउने गरेका छन्। (बिबिसीबाट)

 

Tags: