post-slider post-slider

दसैं अगाडि लाभांश बाँड्दै वाणिज्य बैंक

Image
A A

काठमाडौं- धेरैजसो वाणिज्य बैंकले यस वर्ष दसैं अगाडि नै लाभांश बाँड्ने भएका छन्। यस वर्ष मलमास रहेका कारण दसैं कार्तिकमा पुगेको छ। त्यसकारण लाभांश बाँड्न सक्षम वाणिज्य बैंकले दसैं अगाडि नै लाभांश वितरण गर्ने भएका हुन्।

नेप्सेमा सुचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकबाट लाभांश घोषणाको शुरुवात भएको छ। माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। अघिल्लो आर्थिक वर्षको नाफाबाट माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्न पाएको थिएन। 

माछापुच्छ्रे बैंकले वर्षभरी क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। गत आर्थिक वर्ष १ अर्ब ८५ करोड खुद नाफा कमाएको माछापुच्छ्रेको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको थियो। बैंकले वितरणयोग्य नाफा बराबरकै आम्दानी वितरण गर्ने प्रस्ताव गरेको हो।

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेसँगै एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेका छन्। राष्ट्र बैंकले सहमति भने दिइसकेको अवस्था छैन।

विगत दुई आर्थिक वर्षदेखि पुँजी कोष अनुपात कायम गर्न नसकेको एनआईसी एसिया बैंकले यसपटक राष्ट्र बैंकसँग करिब ३२ प्रतिशत लाभांश वितरणका लागि अनुमति माग गरेको छ। गत आर्थिक वर्ष ४ अर्ब ६५ करोड नाफा गरेको यस बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ। बैंकले वितरणयोग्य नाफा सबै वितरण गर्ने गरी राष्ट्र बैंकसँग लाभांश वितरणको अनुमति माग गरेको केन्द्रीय बैंक स्रोतले जनाएको छ।

गत वर्षको खुद मुनाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको देखिएको छ। एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड खुद नाफा गरे पनि ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। एभरेष्ट बैंकले साँढे ४० प्रतिशत आफ्ना लगानीकर्तालाई लाभांश बाँड्ने क्षमता राख्छ।

बैंकले आफ्नो क्षमता बराबरको लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति माग गरेको छ। बैंकले बोनस र नगद लाभांश मिश्रित गरेर नै प्रस्ताव गर्ने गर्दछ र यस वर्ष पनि सोही अनुपातमा नै लाभांश प्रस्ताव हुने सम्भावना छ। बैंकले नगद लाभांश नै धेरै प्रस्ताव गर्नेछ।

१७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्ने सानिमा बैंकले पनि राष्ट्र बैंकसँग लाभांश वितरणका लागि प्रारम्भिक अनुमति माग गरेको छ। यस बैंकले गत आर्थिक वर्षको नाफाबाट २ अर्ब २० करोड रुपैयाँ लाभांश वितरण गर्न सक्छ। बैंकले गत आर्थिक वर्ष २ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले गत वर्ष पनि १० प्रतिशत बोनस शेयर नै वितरण गरेको थियो।

स्टयाण्डर्ड चार्टर्ड बैंक सबैभन्दा धेरै लाभांश बाँड्नसक्ने बैंकको सूचीमा तेस्रो नम्बरमा छ। यस बैंकले गएको वर्षको खुद नाफाबाट २८.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ। गत वर्ष यस बैंकले ३ अर्ब ५२ करोड खुद नाफा कमाएकोमा २ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। बैंकले पनि नगद लाभांशलाई नै जोड दिने गर्दछ। सम्भवत यस वर्ष पनि नगद नै दिनेछ।

यस्तै प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा अत्यन्तै न्यून रहेकाले यी बैंकले लाभांश बाँड्ने सम्भावना न्यून छ। हिमालयन बैंकको लाभांश वितरण क्षमता ५.४९ प्रतिशतले ऋणात्मक छ भने कुमारी बैंकको ३.२४ प्रतिशतले ऋणात्मक छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ।

Tags: