डन दीपक मनाङे पक्राउ
काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्। मनाङेलाई काठमाडौं सीतापाइलाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए।
पूर्वमन्त्रीसमेत रहेका आपराधिक पृष्ठभूमिका डन मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
उक्त मुद्दामा उनले यसअघि २६ महिना कैद भुक्तान गरेका थिए। अब २२ महिना जेल बस्नुपर्ने देखिएपछि मनाङेलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
मनाङेमाथि २०६१ सालमा चक्रे मिलनको हत्या प्रयास गरेको आरोप लागेको थियो। घटनामा चक्रेको देब्रे हात छिनाइएको थियो।
जिल्ला अदालतले दुई वर्ष कैद तोकेको थियो। उच्चले जिल्लाको सजाय उल्टाएर पाँच वर्ष कैद तोके पनि उनी कारागार गएका थिएनन्।
उनी २०७४ मा पहिलो पटक प्रदेश सांसद भएपछि उनी कैद भुक्तान गर्न बाँकी रहेका दोषी रहेको सार्वजनिक भएपछि फरार भए। काठमाडौँको स्वयम्भूमा समातिएपछि कारागार पुगेका थिए।
तर, सर्वोच्च अदालतले जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्न अनुमति दिएपछि रिहा भएका उनी दोस्रो पटक सांसद र पटक-पटक मन्त्री भएका थिए।