post-slider post-slider

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै!

Image
A A

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरी झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद। सप्तऋषि दुनियाँलाई बेबकुफ बनाउँदै प्रचार-प्रसारमा व्यस्त छ। श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ।

सप्तऋषि आर्युवेदले केश सम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसरजस्ता दीर्घरोगहरू, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको उपचार गर्ने भन्दै प्रचार गरिएको पाइन्छ।

सप्तऋृषि आयुर्वेदले खुलेआम सर्वसाधारणहरूलाई ठगी गरिरहेको छ तर उपभोक्ता हकहितका लागि खुलेका दर्जनौं उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकायहरू कानमा तेल हालेर बसिरहेका छन्।

यसैलाई लिएर केही व्यक्तिले प्रश्न पनि गरेका छन्। राम दुंगाना भन्छन्, 'विश्वका अर्बपति धनाढ्यहरू धेरैको कपाल छैन। के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता सामान किन्ने थिएनन् होला र?'

यस्तो छ उनको तर्क

टाउकोको कपाल झरेर टाउको कपालविहीन भएकाहरूको कपाल उमार्ने भनेर प्रचार गरिएको श्रीकेश तेलले गरेको विज्ञापनमा जस्तो कसैको पनि वास्तविक रुपमा कपाल पलाएको छैन। केही मानिसहरूले आफ्नो टाउकोमा उम्रिएका दश-बीस वटा मसिना रौं देखाएर पनि प्रचार गरिरहेका छन्। त्यो रौंहरू यत्तिकै पनि आउँछ। त्यस किसिमका कपाल बढेर खासै ठूलो पनि हुँदैन र मानिसको सौन्दर्यमा पनि खासै फरक पर्दैन।

संसारका विकसित-धनी देशमा कपाल पुनः उमार्न सकिन्छ कि भनेर ठूला कम्पनी र विज्ञहरूले लामो समय खर्चिएर गहिरो अनुसन्धान पनि गरेकै होलान्। किनकि, कपाल उमार्न सकिने तेल, क्रिम या खाने औषधी बनाउन सकेमा त्यस्तो प्रोडक्ट बनाउने व्यक्ति या कम्पनी रातारात अर्बपति हुने पक्का छ। किनकि, मानिसहरू कपाल नभएर गुमेको सौन्दर्य र आत्मविश्वास फर्काउन जति महंगो भए पनि त्यस्ता प्रोडक्ट किन्छन् नै।

विश्वका अर्बपति धनाढ्यहरू धेरैको कपाल छैन, के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता प्रोडक्ट किन्ने थिएनन् होला? कपाल सजिलै उम्रिने भरपर्दो प्रोडक्ट बजारमा अहिलेसम्म बनेको छैन। त्यसैको विकल्पमा अनुसन्धानकर्ताहरूले कपाल प्रत्यारोपण प्रयोगमा ल्याएका हुन्। यो चाहिँ कपाल उमार्न लगभग सफल भएको विधि हो। कपाल प्रत्यारोपण गरिएका मानिसहरूको कपाल उम्रिएपछि बिफोर-आफ्टर भनेर कपाल रोप्नुअघि र कपाल पलाइसकेको अवस्थामा हेयर ट्रान्सप्लान्ट गर्नेहरूले विज्ञापन गर्छन्।

श्रीकेश तेलले अहिलेसम्म त्यस्तो विज्ञापन कहीँकतै गरेको छ?

मेरो कपाल झर्न सुरू भएपछि श्रीकेश तेलको जस्तै विज्ञापन देखेर धेरै पैसा यस्ता बेकारको प्रोडक्ट किनेर सक्काएँ। म ठगिएँ। म जस्तै ठगिनु होला भनेर सचेत गराएको हुँ।

श्रीकेश तेल लगाएका कोही आफ्ना नजिकका र चिनजानका मानिसको बाक्लै कपाल आएको छ भने मात्र प्रयोग गर्नुहोला। नभए टाउकोमा पलाएको दुई चार वटा रौंले मानिसको सौन्दर्यमा खासै ठूलो फरक पर्दैन। यस्तो दस-बीस वटा रौं टाउकोमा हुनुभन्दा चिल्लै भएको राम्रो बरू।

अब बुझौं, वास्तवमा कपाल किन झर्छ?

डा. कल्याण सुवेदीका अनुसार कुनै पनि दिनमा १०० वटाजति कपाल झर्ने गर्छ। यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउँदा करिब ३०० जति कपाल बाथरूममा देखिनुलाई सामान्य मान्नुपर्छ। यी झरेका कपालको जराबाट पुन: कपाल पलाउन थाल्छ। तर, कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ। यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ।

उनी भन्छन्, ‘प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० वर्षमा सुरू हुन्छ भने महिलामा ३० वर्षमा हुन्छ। प्राय: कपालको संख्या लगभग ५० प्रतिशतजति कम नहुँदासम्म हामीलाई खासै चिन्ता महसुस हुँदैन वा हामीले पत्तो पाउँदैनौं। कपाल झर्ने कारण धेरै हुन सक्छ। ती कारणहरूलाई मुख्यतया: दुई भागमा विभाजित गरिन्छ। पहिलो स्क्यारिङ (कपालको जरा नष्ट भएको) र दोस्रो नन-स्कियारिङ (कपालको जरा नष्ट नभएको)। स्क्यारिङ निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भव छैन। लगभग ८०-९औ प्रतिशतको नन-स्क्यारिङ हुने गर्छ र यसको उपचार छ।’

कपाल झर्ने समस्याको उपचार के हुन्?

डा. सुवेदी भन्छन्, 'कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न। औषधीहरूले मुख्य गरी दुई किसिमले काम गर्छ।

पहिलो, कपाल झर्न कम गर्ने। दोस्रो, जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरि सक्रिय बनाउने। तल बताइएका औषधी र विधिहरू जति छिटो सुरू गर्‍यो उति नै राम्रो परिणाम देखिन्छ। अर्थात् टाउको टक्लु हुनुअघि नै सुरू गर्दा राम्रो हुन्छ।’

यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरू एकै पटक झर्न सुरू गरेको छ भने पहिला बायोटिन भिटामिन सुरू गर्ने। एक महिना दिनहुँ खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने। झर्न रोकियो भने ३/४ महिना थप खाने। टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने। बायोटिन खाँदै गर्दा रगतमा अन्य केही कुराको पनि कमी छ कि भनेर जाँच गर्दा राम्रो हुन्छ।

एन्ड्रोजिनेटिक हेयर लसको लागि पहिला मिनोक्सिडिल फोएम ५ ५% (रोगेनिन ब्रान्ड अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने। यसले कपाल थप झर्नबाट रोक्छ र केही मात्रामा कपाल बढ्न सक्छ।

मिनोक्सिडिलसँगै वा छुट्टै फिइनास्टेरिड औषधी खान सकिन्छ। यो औषधि पुरुषको लागि मात्र हो। डाक्टरको प्रेस्किप्सनबिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरि दोहोर्‍याउँछु, महिलाले फिइनास्टेरिड खान हुँदैन)।

माथि भनिएको औषधी ४/५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए लेजर इनर्जी प्रयोग गर्न सकिन्छ। हप्ताको दुई दिन घरमै वा डाक्टरको अफिसमा गएर यो लेजर प्रयोग गर्न सकिन्छ। लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई लेजर इनर्जीले पुन: सक्रिय बनाउँछ।

विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट प्लेटलेट (रगतको एक तत्व) छुट्याएर निकालिएको प्लेटलेट रिच प्लाज्मा कपालको जरामा सुईद्वारा लगाइन्छ, जसले कपाल उम्रन छाडेको जराबाट पुन: कपाल पलाउन थाल्छ। यसो गर्दा पनि भएन भने हेयर ट्रान्सप्लान्ट गर्न सकिन्छ।

एलेपोसिया Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधी प्रयोग गर्नुपर्छ। अन्य खाने औषधी र लगाउने इन्जेक्सनहरू पनि हुन्छन्। यी सबै औषधी डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ।

Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नुपर्छ। रोग पत्ता लगाउन रगत जाँच गर्नुपर्छ।

प्राय: CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जाँच गरिन्छ। अरू कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुस्।

यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ। सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन। ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानुपर्छ।

के तातो पानीले नुहाउँदा कपाल झर्छ?

चिसो पानी र चिसो मौसम हुने ठाउँमाभन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ। तातो पानीले नुहाउन रोक्नु पर्दैन।

खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ, कारण के होला?

कपाल झर्न सुरू हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न सुरू भएको महसुस हुन सक्छ। खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्रभन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ। तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ। अन्य कारण हो भने माथि भनेको जस्तो गर्नुपर्छ।

के खुइलिसकेको तालुमा पनि hair transplant गर्न मिल्छ?

धेरैको मिल्छ र transplant गरेकामध्ये धेरै कपालहरू वर्षौंसम्म रहन्छ। यसरी transplant गर्ने रौँ आफ्नै टाउकाको कानभन्दा ठिक माथि र टाउकाको पछाडितिरबाट निकालेर तालुमा वा अगाडि transplant गरिन्छ। आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउँदैन र reaction हुन नदिने कुनै औषधी खानु पनि पर्दैन।

Tags: