post-slider post-slider

बारामा प्रहरी र स्थानीयबीच झडप, पाँच राउन्ड हवाइ फायर

Image
A A

काठमाडौं- बारामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। जितपुर सिमरा–१६ टांगियाबस्तीमा झडप भएको हो।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार  हतियार रहेको आशंकामा पक्राउ गरेका ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो।

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेका प्रहरी टोलीमाथि ढुंगामुढा गरी पक्राउ परेका लामालाई हतकडीसहित भगाउन सफल भएका छन्।

दोहोरो भिडन्तमा प्रहरी वरिष्ठ नयाब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन्।

झडप नियन्त्रणमा लिन प्रहरी पाँच राउन्ड हवाइफायरसमेत गरेको छ। 

हतियार रहेको गोप्य सूचनाको आधारमा लामाको घरमा छापा मार्न प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली पुगेको थियो।

छापामारीपछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

 

Tags: