post-slider post-slider

‘नक्कली’ नागरिकता प्रकरण : वीरगञ्जका मेयरविरूद्ध आधा दर्जनबढी निकायमा उजुरी,अनुसूची फारम 'गायब'

Image
A A

काठमाडौं- ‘नक्कली’ छोरी बनाइ नागरिकता दिलाएको आरोप लागेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही गर्न सातवटा निकायमा जाहेरी तथा उजुरी परेको छ।

फर्जी विवरण पेस गरी रूविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै सिंहलाई कारबाही गर्न माग गर्दै उजुरी परेको हो।

अरूको छोरीलाई आफ्नो छोरी बनाइ उनले नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा नेपाली कांग्रेसका समर्थकहरूले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए।

सिंहविरूद्ध त्यो नै पहिलो उजुरी थियो।

त्यसपछि सिंहविरूद्ध दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘नक्कली’ छोरी बनाइ सिंहले नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै पर्सा कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनले फौजदारी कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका छन्।

यद्यपि त्यो निवेदन हालसम्म दर्ता भइसकेको छैन।

‘जिल्ला प्रशासनका साथै फौजदारी अभियोगमा मुद्दा चलाउन जाहेरी दिएको छु,’ सहाबुद्दिनले आयोमेलसँग भने,‘प्रहरीले निवेदन दर्ता गरिसकेको छैन। प्रमाण जुटाउने काम भइरहेको भनेको छ। सबै प्रमाण पेस गरेको छु। त्यो पनि दर्ता हुन्छ।’

उनले मेयर सिंहसहित रूविना श्रेष्ठलाई पनि कारबाही गर्न माग गरेका छन्।

पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित दुई जनाविरूद्ध फौजदारी अपराधअन्तर्गत जाहेरी परेको बताए।

जाहेरीमाथि छानबिन भइरहेको उनको भनाइ छ। शाहले भने,‘नागरिकता प्रकरणमा केही विषयमा छानबिन भइरहेको, त्यो सकिएपछि दर्ता गरेर बाँकी प्रक्रिया अगाडि बढ्छ।’

कांग्रेस नेता सहाबुद्दिनका अनुसार फर्जी नागरिकता प्रकरणमा मेयर सिंहलाई कारबाही गर्न प्रधानमन्त्रीदेखि गृहमन्त्री तथा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराइएको छ।

उनी भन्छन्,‘प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायहरूमा प्रमाणसहित उजुरी दिएका छौं। सबै प्रमुख राजनीतिक दलहरूलाई पनि ध्यानाकर्षण गराइसकेका छौं।’

गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको सहाबुद्दिनले बताए।

मेयर सिंहले ‘नक्कली’ छोरी बनाएर रूबिनालाई नागरिकता दिलाएको उजुरी परेपछि र सञ्चारमाध्यमहरूमा समाचार आउन थालेपछि जिल्ला प्रशासन कार्यालय आफैंले पनि छानबिन सुरू गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सुरू गरेको खोजबिनका क्रममा अनुसूची फर्म नै गायब भएको पाइएको छ। कार्यालयबाटै अनुसूची फर्म हराएपछि यो विषय थप शंकास्पद बनेको छ।

कार्यालयमा अनुसूची फर्म नभेटिएपछि प्रमुख जिल्ला अधिकारी भुसालले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा छानबिन समिति नै गठन गरेका छन्।

छानबिन समितिलाई अनुसूची फर्म खोजेर अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।

अनुसूची फर्म कुनै व्यक्तिले नागरिकता लिनुअघि सबै विवरण उल्लेख गर्नुपर्ने फर्म हो। यसलाई वडा कार्यालयले प्रमाणित गरिसकेपछि नागरिकता लिने प्रक्रिया अगाडि बढ्छ।

रूबिना श्रेष्ठको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख छ। तर, नागरिकता लिँदाको अनुसूची फर्म भने ‘गायब’ भएपछि यो विषय थप पेचिलो बनेको छ।

जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको दुई साता बित्न लाग्दा पनि अनुसूची फर्म फेला पर्न नसकेको बताइएको छ।

उजुरीकर्ता सहाबुद्दिन भने प्रमुख जिल्ला अधिकारीले आइतबार साँझसम्म प्रतिक्षा गर्न आश्वासन दिएको बताउँछन्।

‘प्रमुख जिल्ला अधिकारीले आज साँझसम्म प्रतिक्षा गर्न भन्नु भएको छ। साँझसम्म सबै रिपोर्ट आइसक्ने उहाँबाट प्रतिबद्धता व्यक्त भएको छ,’ उनले भने,‘जिल्ला प्रशासन कार्यालयबाट के जवाफ आउँछ त्यही अनुसार अगाडि बढ्ने हो।’

सहाबुद्दिनले वीरगञ्जका मेयर सिंहको श्रीमती र एक छोरासहित परिवारमा तीन सदस्यमात्रै रहेकोमा एक्कासी छोरी बनाएर नागरिकता दिलाएपछि आफूहरूले उजुरी दिएको बताए।

‘उहाँको परिवारमा श्रीमती अन्नपुर्णा मानन्धर छोरा अनिसमान सिंह गरी तीन जनामात्रै सदस्य हुनुहुन्छ,’ उनी थप्छन्,‘तीन जनामात्रै सदस्य रहेको पूरा वीरगञ्जलाई थाहा छ। अर्को यो एक जना छोरी कहाँबाट उत्पन्न भयो? उनी नक्कली छोरी हुन्।’

भट्टराई थर भएकी उनलाई मेयर सिंहले आफ्नी छोरी बनाएर रूविना श्रेष्ठको नाममा नागरिकता दिलाएकोे सहाबुद्दिनको दाबी छ।

‘अरूको सन्तानलाई आफ्नो भनेर नागरिकता दिलाउने काम कानुनविपरित हो। झन सार्वजनिक पद धारण गरेका व्यक्तिले त यो काम गर्नै भएन। उनीहरूले नै यसो गरे सर्वसाधारणले के गर्लान्? त्यसैले हाम्रो ध्यानाकर्षण भएको हो,’ उनी भन्छन्।

आयोमेललाई प्राप्त कागजातअनुसार मेयर सिंहले छोरी बनाएर नागरिकता दिलाएको रूबिनाको नागरिकता २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको छ।

३४–०१–७५–०४८४७ नम्बरको यो नागरिकता प्रमाणपत्रमा बाबुको नाम राजेशमान सिंह र ठेगाना वीरगञ्ज महानगरपालिका–३ पर्सा उल्लेख छ।

रूबिनाको नागरिकता प्रमाणपत्रमा बाबुको नागरिकता प्रमाणपत्रको नम्बर १६०३१८८१७ रहेको उल्लेख छ।

रूबिनाको नागरिकतामा उल्लेखित बाबुको नागरिकता प्रमाणपत्र नम्बर र मेयर सिंहको नागरिकता प्रमाणपत्र नम्बर एउटै रहेको देखिन्छ।

नागरिकता प्रमाणपत्र प्राप्त गरेको ११ दिनपछि २०७५ साउन २४ गते रूबिनाले राहदानी लिएको पाइएको छ।

यतिबेला उनी अस्ट्रेलियामा छिन्। उनलाई कानुनसम्मत ढंगबाट झिकाएर कारबाही गर्नुपर्ने माग उजुरीकर्ताहरूले गरेका छन्।

‘नागरिकता लिएको केही दिनभित्रै पासपोर्ट दिलाएर मेयर सिंहले रूबिनालाई अस्ट्रेलिया पठाउनुभयो,’ सहाबुद्दिन भन्छन्,‘उनलाई पनि त्यहाँबाट झिकाएर कानुनसम्मत ढंगबाट कारबाही हुनुप¥यो भन्ने हाम्रो भनाइ छ।’

मेयर नहुँदै सिंहले एक जना वडा सदस्यलाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिन लगाएर रूबिनालाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गराउन लगाएको सहाबुद्दिनको दाबी छ।

उनका अनुसार मेयरको चुनाव लड्नेबेला सिंहले मनोनयनपत्रमा समेत छोरीको विवरण खुलाएका छैनन्।

‘मनोनयनपत्र दर्ता पारिवारका सदस्यहरूको विवरण भर्नुपर्ने हुन्छ। त्यो विवरणमा उहाँले छोरीको नाम उल्लेख गर्नु भएको छैन। बैंकको केवाइसीहरूमा पनि नाम छैन,’ सहाबुद्दिन भन्छन्,‘पैसाको चलखेल गरेर सिडिओ कार्यालयबाट प्रमाणहरू लुकाउने काम भएको छ।’

मेयर सिंहले भने यो नितान्त आफ्नो निजी विषय भएको र अनुसन्धानमा सहयोग रहने बताएका छन्।

‘यो नितान्त मेरो निजी विषय हो। अनुसन्धानका लागि म सहयोग गर्न तयार छु। अनुसन्धान गर्ने निकायले बोलाए त्यसमा मेरो सहयोग रहनेछ,’ उनले भने।

सिंहले पनि सहाबुद्दिनविरूद्ध दिएका मुद्दा

‘नक्कली’ बनाइ नागरिकता दिलाएको आरोप झेलिरहेका वीरगञ्ज नगरपालिकाका मेयर सिंहले पनि कुनैबेला सहाबुद्दिनविरूद्ध नक्कली नागरिकतासम्बन्धी मुद्दा दिएका थिए।

भारतीय नागरिक भएर नेपाली नागरिकता लिएको भन्दै सहाबुद्दिनविरूद्ध मुद्दा परेको थियो।

सिंहले आफूविरूद्ध नक्कली नागरिकताको मुद्दा हाले पनि जिल्ला अदालतबाट सफाइ पाइसकेको उनले बताए।

‘भारतको पहिचानपत्रको एउटा फोटोकपीको भरमा उहाँले मविरूद्ध नक्कली नागरिकताको मुद्दा हाल्नुभएको थियो। ११ वर्ष ९ महिनासम्म मुद्दा लडेर जिल्ला अदालतबाट सफाइ पाइसकेको छु,’ सहाबुद्दिन भन्छन्,‘म यही नारायणी अस्पतालमा जन्मिएको मान्छे हुँ, यहीँ लेखपढ गरेर हुर्केको हुँ। तैपनि ११ वर्षसम्म मुद्दाको प्रताड्ना सहनुप¥यो।’

 

 

Tags: