post-slider post-slider

रामकलेवा गरी यस वर्षको विवाहपञ्चमी सम्पन्न हुँदै

Image
A A

जनकपुरधाम- सप्ताहव्यापी रामजानकी विवाहोत्सव रामकलेवा गरी सोमबार सम्पन्न हुँदैछ।

महोत्सवको अन्तिम दिन जनकपुरधामस्थित जानकी मन्दिरमा रामकलेवा आयोजना गर्न लागिएको हो।

रामकलेवामा रामजानकी विवाहोत्सवमा जन्तीका रूपमा सहभागी भएका भारतका साधुसन्तलाई बिदाइ गर्ने परम्परा रहेको छ।

यो अवसरमा जानकी मन्दिरले माता सीताको माइतीघरको रूपमा भारतबाट आएका साधुसन्तहरूलाई दान दक्षिणासँगै भोजन गराएर बिदाइ गरेपछि साताव्यापी विवाहपञ्चमी महोत्सव औपचारिक रूपमा सम्पन्न हुनेछ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले रामकलेवाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

उनले जानकी मन्दिरको प्राङ्गणमा दिउँसो एक समारोहकाबीच भारतबाट आएका साधुसन्तलाई भोजनपश्चात दान दक्षिणा दिएर बिदाइ गरिने बताए।

रामकलेवा समारोहमा भारतबाट आएका साधुसन्तका साथै जनकपुरधामका स्थानीयहरू पनि उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी जानकीको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्ग शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको मान्यता रहेको छ।

मिथिला संस्कृतिअनुसार आइतबार राति राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो। 

जानकी मन्दिर परिसरमा भएको वैवाहिक कार्यक्रममा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी भएका थिए।

त्यसअघि साताव्यापी कार्यक्रमअन्तर्गत नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तिल्कोत्सव र मटकोर विधि गरिएको थियो।

रामजानकी विवाहोत्सव कार्यक्रममा यसपालि नेपाल तथा भारतका पाँच लाखभन्दा बढी श्रद्धालु सहभागी भएको अनुमान गरिएको छ।

 

Tags: