post-slider post-slider

राजतन्त्र भनेको राँके भुत हो : भट्टराई

Image
A A

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक दलहरूबीच एकताको विन्दु भएको बताएका छन्।

४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सुशासन कायम हुन नसक्दा अहिलेको व्यवस्थाप्रति युवाहरूमा आक्रोश देखिएको उनले बताए।

संविधानले फल दिन नसक्दा व्यवस्थाप्रति आक्रोश बढेको भन्दै उनले यसलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरे।

भट्टराईले राजतन्त्र भनेको राँके भूत रहेको र यसले केही फरक नपर्ने बताए।

‘फल नदिनुको अर्थ पुरानो व्यवस्थामा फर्किनु भन्ने होइन, राजतन्त्र भनेको राँके भूत हो, यसले केही फरक पर्दैन,’ उनले भने,‘सुशासन, राजनीतिक स्थायित्वलगायतका विषयमा सुधार गर्न जरूरी छ।’

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा समस्या देखिएकोले यसमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।

भट्टराईले घोचपेच नगरेर सामूहिक नेतृत्व लिएर अगाडि बढ्नुपर्ने बताए।

चीन पहिलो र भारत तेस्रो अर्थतन्त्र  बनिरहेको बेला हाम्रो जस्तो मुलुक कछुवा गतिमा हिँडेर विकास सम्भव नहुने उनले बताए।

भट्टराईले भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध बनाएर लगानी भित्र्याइ विकासतर्फ अगाडि बढ्नुपर्ने जिकिर गरे।

 

Tags: