post-slider post-slider

दाउद इब्राहिम कराची अस्पतालमा भर्ना, यसरी बनेका थिए ‘अन्डरवर्ल्ड डन’

Image
A A

काठमाडौं- ‘मोस्ट वान्टेड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन्।

दाउदलाई विष खुवाइएपछि अस्पताल भर्ना गरिएको बताइएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

यद्यपि दाउदलाई विष दिइएको विषयमा आधिकारिक पुष्टि हुन सकेको छैन।

सामाजिक सञ्जालहरूमा उनलाई विष खुवाइएपछि अस्पताल भर्ना गर्नुपरेको दाबी गरिएको छ।

अज्ञात व्यक्तिले विष खुवाइदिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ।

दाउद समूहका एक पूर्वसदस्यले गम्भीर बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती पूर्व सदस्यका अनुसार दाउदलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको हो।

दाउद भर्ना भएको अस्पतालको तल्लामा कसैलाई जान अनुमति दिइएको छैन। उनी भर्ना भएको तल्लामा उच्चपदस्थ अधिकारी र परिवारका सदस्यहरूलाई जान अनुमति दिइएको छ।

मुम्बइ प्रहरीका अधिकारी दाउदको नजिकको नातेदार भतिजाहरू अलिशाह पारकर र साजिद वाग्लेसँग यो विषयमा जानकारी लिने प्रयास गरिरहेको बताइएको छ।

पाकिस्तानको जियो टिभी न्युजले सामाजिक सञ्जालमा भइरहेको चर्चालाई अपवाह बताएको छ। उसले गम्भिरि चिकित्सा स्थितिका कारण दाउदलाई कराची अस्पतालमा भर्ना गरिएको दाबी गरेको छ।

यद्यपि अपुष्ट खबरहरूमा उनलाई विष दिइएको बताइएको छ।

यसअघि पनि दाउद गम्भीर बिमारीबाट जुझिरहेको बताइएको थियो।

‘गैंग्रीन’ का कारण कराचीको एक अस्पतालमा उनको खुट्टाको दुईवटा औंला काटिएको चर्चा चलेको थियो।

६५ वर्षीय दाउद विश्वभरका प्रहरीको खोजी सूचीमा छन्। उनी कैयौं वर्षदेखि पाकिस्ताको कराचीमा लुकेर बसिरहेका छन्।

सन् १९९३ मा मुम्बइमा भएको बम ब्लास्टका प्रमुख योजनाकार भनिएका दाउद लामो समयदेखि भारतको खोजीसूचीमा रहेका छन्।

भारतले दाउदलाई सुपूर्द गर्न दबाब दिए पनि यसका लागि पाकिस्तान तयार भएको छैन।

पाकिस्तानमा सामाजिक सञ्जालको ‘सर्भर डाउन’

दाउद अस्पताल भर्ना भएको खबर फैलिएपछि पाकिस्तानमा सामाजिक सञ्जालको सर्भर डाउन भएको बताइएको छ।

पाकिस्तानी पत्रकार आरजु काजमीले युट्युबमा पोस्ट गरेको एक भिडियोमा युट्युब, गुगलजस्ता सामाजिक सञ्जाल काम गर्न छाडेको जानकारी दिएकी छन्।

काजमीले दाउदलाई अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएकी छन्।

दाउद यसरी बनेका थिए ‘डन’

दाउदको जन्म सन् १९५५ डिसेम्बरमा भारत महाराष्ट्रको रत्नागिरी जिल्लामा भएको थियो।

उनका बुबा इब्राहिम कासकर प्रहरी जवान थिए। पछि दाउदको परिवार मुम्बइको डा्ेंगरी क्षेत्रमा बसोबास गरेको थियो।

७० को दशकमा दाउदको नाम मुम्बइ अन्डरवल्र्डमा चर्चामा आएको थियो।

सुरूमा उनले मस्तान समूहमा काम गरेका थिए। त्यहाँ दाउदको प्रभाव बढ्न थाल्यो। समूहका मानिसहरूले उनलाई डि–कम्पनी भन्न थाले। 

मुम्बइ बम विस्फोटको योजनाकार

१९९३ मा मुम्बइमा भएको श्रृंखलाबद्ध बम विस्फोटको प्रमुख योजनाकार थिए।

विस्फोटपछि उनी भारत छाडेर दुबइ भागेका थिए। त्यसपछि दाउदले पाकिस्तानलाई आफ्नो वासस्थल बनाए।

उनी आफ्नो परिवारका साथ पाकिस्तानमा बस्दै आएका छन्। दाउदविरूद्ध भारतमा आतंकी हमला, हत्या, अपहरण, सुपारी हत्या, संगठित अपराध, लागूऔषध, हतियार तस्करीलगायतका मुद्दा दर्ज छन्।

सन् २००३ मा दाउदलाई विश्वव्यापी आतंककारी घोषित गरिएको थियो।

सन् २०११ मा एफबिआई र पोब्र्सको एक सूचीमा उनलाई विश्वको तेस्रो मोस्ट बान्टेड भगौडा अपराधि घोषित गरिएको थियो।

 

Tags: