post-slider post-slider

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

Image
A A

काठमाडौं, चैत ९- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन्।

महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको बयान सकिएपछि हाजिरी जमानीमा रिहा गर्न सहमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले जानकारी दिए।

काठमाडौं अदालतले दिएको चार दिनको म्यादभित्र बयान सकिएको र महराको स्वास्थ्य अवस्था कमजोर रहेको अवस्थामा हालमा थुनामा राख्नुभन्दा पनि हाजिरी जमानीमा छाड्न सिआइबीले पत्र लेखेको र सरकारी वकिल कार्यालयले पनि हाजिरी जमानीमा छोड्नका लागि सहमति दिएको उनले बताए।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो। महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सरू गरिएको थियो।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको थियो।

इलेक्ट्रोनिक्स चुरोट (भेप)बाट तस्करी गरी ल्याइएको ९ किलो सुन प्रकरणमा महरा पक्राउ परेका थिए। उक्त प्रकरणमा उनका छोरा राहुल पुर्पक्षका लागि कारागारमा छन्।

Tags: