post-slider post-slider

विद्यार्थीको आग्रह, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम नहटाइ दिनु

Image
A A

काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रबार धेरै कुरा सिक्न पाइएको छ। सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग एक स्वरमा आग्रह गरे। विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरूलाई फरक पर्छ? भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरुले यस्तो उत्तर दिएका हुन्।

विद्यालयका कक्षा कोठाहरूमा शिक्षकहरु अतिरिक्त क्रियाकलाप गराउन व्यस्त थिए। कक्षा ८ का विद्यार्थीहरु प्रस्तुतिकरण सीपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरु आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरुको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरूमा हाजिरी जवाफ, श्रुतिलेखन, शब्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गरेका थिए। घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन । अब ती जिज्ञासाहरू शुक्रबारका कक्षामा सोध्नु । विद्यार्थीसँगको अन्तरक्रियाका क्रममा अधिकारीले भने, ‘अरु दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा राखे । ‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्छ,’ उनको सुझाव थियो ।

विद्यालयहरुमा सीपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले, शौचालय एक ठाउँमा मात्र भएको, त्यो पनि साँघुरो भएको, विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताए।   

 विद्यालय २०१८ सालमा स्थापना भएको हो । २०५५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालयमा अहिले ७०६ जना विद्यार्थी अध्ययनरत छन् ।

बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षाकोठाहरूमा सजावट गरिएको छ । फर्निचरहरूमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।

Tags: