post-slider post-slider

काठमाडौं महानगरसँगको चार बुँदे सहमतिपछि अभियन्ता ई:ले स्थगित गरे आन्दोलन

Image
A A

काठमाडौं- धर्नामा रहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ। ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ईः ले आन्दोलनको कार्यक्रम स्थगित भएको घोषणा गरेका छन्।

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले ९ दिनदेखि आन्दोलन गर्दै आएका थिए। अभियन्ता ईः निरन्तर एक सय ९९ घन्टादेखि महानगरको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिँदै आएका थिए।

हिजो दुई पक्षबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्री महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र धर्ना स्थगित गर्ने उल्लेख छ।

त्यस्तै, फुटपाथ तथा सार्वजनिक स्थलमा अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र ठाउँ उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने सहमति भएको छ।

समितिमा महानगरपालिकाले तोकेका तीन जना, अभियानकर्ता ईः को तर्फबाट तोकिएका प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयको प्रतिनिधि एक जना, ट्राफिक प्रहरीको प्रतिनिधि एक जना तथा साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका ठाउँबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ।   

Tags: