तीनकुने हत्या प्रकरण : एक जनाले रिसिइबी साध्न चारैजनाको हत्या स्वीकारेको प्रहरी दाबी
काठमाडौं- तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपितले नवीन राईसितको रिसिइबीले चार जनाको हत्या गरेको स्वीकार गरेका छन्।
तीनकुने गैरीगाउँमा शनिबार भएको सामूहिक हत्या प्रकरणमा एक जना पक्राउ परेकोमा ती व्यक्तिले नै चारै जनाको हत्या गरेको प्रहरीसामु बयान दिएका छन्। पक्राउ पर्नेमा बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) व्यक्ति भएको प्रहरीले जनाएको छ।
घटनास्थल आसपासका सीसीटीभी फुटेज केलाउँदै जाँदा ती व्यक्ति पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।
काठमाडौं प्रहरीले सिन्धुपाल्चोकका बोल्न नसक्ने एक जना आरोपितलाई पक्राउ गरेको छ। उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन्।
उनले प्रहरीलाई कापीमा लेखेर चार जनाको हत्या आफूले गरेको स्वीकार गरेका छन्। पक्राउ परेकालाई प्रहरीले आजै साँझ साढे ६ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।