post-slider post-slider

खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना

Image
A A

काठमाडौं- निर्वाचन आयोगले गत वर्षको आमनिर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई आयोगले कारबाही गर्ने तयारी थालेको हो।

निर्वाचन आयोगले जनाएअनुसार प्रतिनिधिसभातर्फ १ हजार ३७ र प्रदेससभातर्फ १ हजार ३९८ उम्मेवारले खर्च विवरण बुझाएका छैनन्।

खर्च विवरण नबुझाउनेमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलगायतका नेताहरू रहेका छन्।

त्यस्तै माओवादी केन्द्रकी ओसरी घर्ती, कांग्रेसका विजयकुमार गच्छेदार, उमाकान्त चौधरी, महेन्द्रकुमार राय, अजयकुमार चौरसियालगायतका नेताहरूले पनि खर्च विवरण सार्वजनिक गरेका छैनन्।

खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई आयोगले जरिवाना तोकेको छ। बुधबार सूचना गर्दै आयोगले उनीहरूलाई जरिवाना तोकेको हो।

खर्च नबुझाउने प्रतिनिधिसभा र प्रदेससभातर्फगरी २ हजार ४३५ जनालाई १५ / १५ हजारको दरले जरिवाना तिर्न निर्देशन दिएको छ।

साथै आयोगले उनीहरूलाई सात दिनभित्र खर्च विवरण बुझाउन पनि निर्देशन दिएको छ।

आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ।

हालसम्म प्रतिनिधिसभाका २ हजार २७३ र प्रदेससभाका ५ हजार ५६१ जना उम्मेदावरले खर्च विवरण बुझाएको आयोगले जनाएको छ।

त्यस्तै आयोगले प्रतिनिधिसभा र प्रदेससभा गरी ७४ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।

 

 

Tags: