प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेसमा, मुख्यमन्त्री चौहानले गरे स्वागत
काठमाडौं- चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेसको इन्दोर पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीबाट शुक्रबार मध्याह्न मध्य प्रदेसको इन्दोर पुगेका हुन्।
इन्दोर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेसका मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरे।
प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले सामाजिक सञ्जालमा लेखेका छन्,‘मध्य प्रदेसको पवत्रि भूमिा पाल्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हृदयदेखि नै अभिनन्दन। आज इन्दोर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिइ आत्मीय स्वागत गरेँ।’
प्रचण्डको इन्दोरमा फोहोर व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि उनी आजै मध्य प्रदेसको अर्को सहर उज्जैन पुग्नेछन्।
उज्जैनमा प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरको दर्शन गर्नेछन्। साथै त्यहाँ उनले १०८ किलो रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ।
जेठ १७ गते नयाँदिल्ली पुगेका प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए।
बिहीबार नै उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
शनिबार बिहान उनको पुनः नयाँदिल्ली फर्किने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री प्रचण्डको दिउँसो नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।