post-slider post-slider

सरकार भ्रष्टाचारविरुद्ध उभिँदा धेरैलाई टाउको दुखाइ भएको छ : मन्त्री शर्मा

Image
A A

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चालिरहेको बताएकी छन्।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताइन्। यसकारको यस्तो कदमले धेरैलाई टाउको दु:खाई भएको उनको टिप्पणी छ।

उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रूपमा देखिएको समस्या समाधान गरेको बताइन्। ‘अहिले नागरिकताविहीन नेपालीका छोराछोरीले नागरिकता पाइरहेका छन् । निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताका साथ लागेको छ । यसबाट कसैको टाउको दु:खेको छ, त्यो सडक र सदनमा पनि बेलाबेला देखिन्छ,’ मन्त्री शर्माले भनिन्।

मन्त्री शर्माले सक्कली नेपालीलाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने स्पष्ट पारिन्। उनले अहिले सरकारले  मिटरब्याज पीडितलाई न्याय दिनका लागि शक्तिशाली आयोग बनाएर जनकपुरधामबाट नै समस्या समाधानको पहल गरिएको र पीडितलाई न्याय दिने काम अघि बढेको बताइन्।

मन्त्री शर्माले सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताइन्। उनले सेवाग्राहीले सेवा नपाउँदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्नुपर्ने धारणा राखिन्।  

 

Tags: