post-slider post-slider

देशभरको मौसम किन धुम्म?

Image
A A

काठमाडौं- पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मौसम धुम्म देखिएको छ। 

दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको छ।

भारतको मध्य प्रदेस र राजस्थानमा विकास भएको न्यून चापनीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविदहरू बताउँछन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्याल यो बादलले वर्षा गराइहाल्ने सम्भावना भने नरहेको बताउँछन्।

देशैभरि आंशिकदेखि सामान्य बदलीको अवस्था रहे पनि हावामा अद्र्रताको मात्रा पर्यापत नभएपछि दुई तीन दिनदेखि नै आकाशमा खाली बादल देखिने, अलिकति सूर्यको तेज बढ्यो भने दिउँसोतिर छरिएर घाम लागेजस्तो हुने र बेलुका भएपछि  फेरि ढाक्ने अवस्था छ,’ उनी भन्छन्।

समुद्र सतहभन्दा  तीन हजारदेखि चार हजार मिटरभन्दा माथिका उच्च पहाडी र हिमाली क्षेत्रमा भने सामान्य हिमपात हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

केही दिनदेखि नेपाली आकाशमा डुलिरहेको बादल शुक्रबारबाट क्रमशः कम हुँदै गए पनि देशका अधिकांश स्थानको तापक्रम घट्दो क्रममा रहेको मौसमविदहरू बताउँछन्।

पूर्वानुमान महाशाखाका अनुसार निरन्तरको बदलीका कारण देशका अधिकांश स्थानमा अधिकतम तापक्रम नघटे  पनि न्यूनतम तापक्रम घट्ने सम्भावना रहेको छ।

पछिल्लो केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २२ डिग्री सेल्सियसको हाराहारी र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको छ।

 

Tags: