post-slider post-slider

प्रधानमन्त्रीले लिए संसदबाट विश्वासको मत

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिएका हुन्। कांग्रेस सांसदले नाराबाजी गरिरहे पनि सभामुख देवराज घिमिरेले विश्वासको मत विभाजन गरेका हुन्।

दाहालले विश्वासको मत लिने पक्षमा १५७ मत परेको छ। हुन्न भन्ने पक्षमा १ मत परेको थियो।

जनता समाजवादी नेपालबाट विभाजन भएर जनता समाजवादी पार्टी गठन भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको हो।

फुटेर गएको जसपा सत्तामा छ भने जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकोमाथि छानबिनका लागि समिति गठन हुन सकेको छैन। त्यसै विषयलाई लिएर कांग्रेसले संसदमा अवरोध गरिरहेको छ।

संसदमा सत्ता-प्रतिपक्ष दुबैको आवाज सुन्नुपर्ने 'तटस्थ' भूमिका भने सोमबारको संसदमा देखिएन। सभामुख घिमिरे सत्तापक्षका जस्ता देखिएका थिए। प्रतिपक्षलाई बेवास्ता गर्दै उनले जबरजस्ती संसद सञ्चालन गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो। यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए। त्यतिबेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो। 

Tags: