post-slider post-slider

स्थानीय र संघीय कानुन बाझ्दा उपत्यकाको विकासमा असहज भएको छ : बालेन

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै पालिकाको विकास एकैपटक हुनुपर्ने उनको भनाइ छ।

मेयर साहले संघीय र स्थानीय कानुन बाझिएका कारण उपत्यकाको विकास एकैपटक गर्न असहज भएको जिकिर गरे।

‘काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललिपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन। पत्यकाबाहिरका मानिसहरूलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ,’ उनले भने,‘त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ। यसका लागि प्रमुख, उपप्रमुख बसेर छलफल गर्दा पनि सक्छौं। तर, केही कुराहरू संघीय र स्थानीय कानुनमा बाझिएका छन्।’

संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेको बताउँदै साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्रीसँग आग्रह गरे।

उनले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेस सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे।

तीनै तहका सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढे उपत्यकाको विकास चाँडो हुने उनको भनाइ छ।

मेयर साहले काठमाडौंको खोला क्षेत्रमा भएका अतिक्रमण मुक्त गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।

‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छ। तर, खोला अतिक्रमण सम्मानीयज्यूले चाहुनभयो भने समाधान हुन्छ,’ प्रधानमन्त्रीतर्फ इंगित गर्दै साहले भने।

 

Tags: