post-slider post-slider

रोमाञ्चक खेलमा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

Image
A A

काठमाडौं- भारतले एसिया कप–२०२३ को फाइनलमा स्थान पक्का गरेको छ। 

मंगलबार घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले एसिया कपको फाइनलमा स्थान सुनिश्चित गरेको हो।

कोलम्बोको प्रेमदासा स्टेडियममा ‘लो स्कोरिङ’ म्याचमा भारतले श्रीलंकालाई पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले सबै विकेट गुमाएर श्रीलंकासामु जितका लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

भारतले प्रस्तुत गरेको झिनो लक्ष्य पूरा गर्न श्रीलंका असफल भयो।

म्याचमा भारतका तर्फबाट ब्याटिङ गर्दै कप्तान रोहित शर्माले मात्रै अर्धशतक बनाउन सफल भए। रोहितले ४८ बल खेलेर ५३ रन बनाए।

उनीबाहेक अरू कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। भारतीय टिम श्रीलंकाका दुई स्पिनर डुनिथ बेलालगे र चरिथ असलांका सामुन्ने धारासायी भयो।

बेलालगे एक्लैले भारतका पाँच ब्याटरलाई पैवेलिएन फर्किन बाध्य बनाए। 

पाकिस्तानविरूद्ध आक्रमक देखिएका शुभमन गिल १९ र विराट कोहली ३ रन बनाएर आउट भए।

त्यस्तै इसान किसनले ३३, के.एल. राहुलले ३९ रन र अक्षर पटेलले २६ जोडे। 

श्रीलंकाले जितका लागि २१४ रनको लक्ष्य प्राप्त गरेको थियो। तर, श्रीलंकाको पूरा टिम १७२ रनमै अलआउट भयो। 

श्रीलंकाको तर्फबाट बेलालगेले सर्वाधिक ४२ रन बनाए। उनी अन्त्यसम्म आउट भएनन्।

त्यस्तै धनञ्जय डिसिल्वाले ४१ रन जोडे। दुवै ब्याटरले सातौं विकेटका लागि ६३ रनको साझेदारी गरे।

यो जितका साथै भारतीय टिम एसिया कपको फाइनलमा पुगेको छ। फाइनल खेल १७ सेप्टेम्बरमा कोलम्बोमा खेलिने छ।

यद्यपि भारतले सुपर–४ चरणको एक खेल खेल्न बाँकी रहेको छ। सुपर–४ अन्तर्गतको बाँकी रहेको खेल १५ सेप्टेम्बरमा भारतले बंगलादेशविरूद्ध कोलम्बोको प्रेमदासा मैदानमै खेल्ने छ।

 

Tags: