post-slider post-slider

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

Image
A A

काठमाडौं- हमास समूहको आक्रमणमा परी इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये थप दुईको शव पहिचान भएको छ।

सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र धनुषा सपही–६ का आनन्द साहको शव पहिचान भएको हो।

इजरायलस्थित नेपाली राजदूतावासले स्वर्णकार र साहको शव पहिचान भएको जनाएको छ।

दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ,‘आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।’

गत असोज २० गते हमास समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी अध्ययनका लागि गएका १० नेपालीको मृत्यु भएको थियो।

उनीहरूमध्ये स्वर्णकार र साहको शव पहिचान हुन बाँकी थियो। 

इजरायलमा मृत्यु भएको १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ।

हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल आइसकेको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए।

हमास आक्रमणमा परेका कञ्चनपुर भीमदत्त–३ का विपिन जोशी भने अझै सम्पर्कविहीन छन्।

 

Tags: