post-slider post-slider

स्वतन्त्रता दिवसको अवसरमा मोदीले भने – पाँच वर्षभित्र शीर्ष अर्थव्यवस्थामा सामेल हुन्छौं

Image
A A

काठमाडौं- भारत आज ७७ औं स्वतन्त्रता दिवसको उत्सव मनाइरहेको छ। सन् १९४७ मा आजकै दिन ब्रिटिस शासनको अन्त्य भएर भारत स्वतन्त्र भएको थियो।

यस अवसरमा हरेक वर्षजस्तै राजधानी नयाँदिल्लीको लालकिलामा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

त्यस्तै भारत सरकारले ‘हर घर तिरंगा’ अर्थात सबै घरमा देशको झन्डा फहराउने कार्यक्रमलाई प्रोत्साहित गरेको छ।

स्वतन्त्रता दिवसको अवसरमा लगातार दुई वर्ष देशवासीलाई सम्बोधन गर्ने नरेन्द्र मोदी भारतको पहिलो प्रधानमन्त्री बनेका छन्। 

सन् २०१४ देखि हालसम्म भारतको सत्ता सम्हालिरहेका मोदीले स्वतन्त्रता दिवसको अवसरमा लालकिलाबाट देशवासीलाई सम्बोधन गरेका छन्।

युवाहरूलाई सन्देश दिँदै उनले देशमा अवसरको कमी नरहेको जिकिर गरे। मोदीले भने,‘देशमा अवसरको कमी छैन। तपाईंहरूलाई चाहिएको सबै अवसर उपलब्ध गराउन सरकार सक्षम छ।’

आगामी दिनमा विश्व प्रविधिबाट प्रभावित हुने बताउँदै उनले यसका लागि भारतले महत्वपूर्ण भूमिका वहन गर्ने बताए।

उनले भने,‘म जी–२० का लागि बाली गएको थिएँ। त्यहाँ सबै जना प्रविधिबारे जानकारी हासिल गर्न उत्सुक थिए। मैले उनीहरूलाई भने–प्रविधि ठूलो सहरसम्म मौ सीमित छैन, सानो सहरका युवाहरू पनि इतिहास रचिरहेका छन्। हाम्रा सानो सहरको आकार छाटो हुनसक्छ तर आशा र अकांक्षामा उनीहरू कोहीभन्दा कम छैनन्। नयाँ ऐप, नयाँ सोलुसन्स, नयाँ डिभाइस बनाइँदै छ।’

भारतको सयभन्दा बढी विद्यालयका बालबालिकाहरू सेटेलाइट तयार पारेर छोड्ने तयारी गरिरहेको मोदीले उल्लेख गरे।

प्रधानमन्त्री मोदीले भारतीय नागरिकले मजबुत सरकार ‘फर्म’ गरेका कारण ‘रिफर्म’ गर्न सहयोग भइरहेको बताए।

‘देशमा ठूलो स्तरमा काम भइरहेको छ। २०१४ मा तपाईंहरूले मजबुत सरकार बनाएपछि मोदीलाई रिफर्म गर्ने हिम्मत आयो,’ उनले भने,‘कर्मचारीतन्त्रले ट्रान्सफर्म गर्न परफर्म गरेर देखायो।’

मोदीले आगामी पाँच वर्षभित्र भारत सर्वश्रेष्ठ अर्थव्यवस्थामा सामिल हुने दाबी गरे।

‘आगामी पाँच वर्षभित्र हाम्रो देश टप इकोनोमीमा सामेल हुनेछ यो मोदीको ग्यारेन्टी हो,’ उनले भने।

प्रधानमन्त्री मोदीले मजदुरहरूलाई नयाँ शक्ति प्रदान गर्न आगामी महिना विश्वकर्मा जयन्तीको अवसरमा ‘विश्वकर्मा योजना’ सुरूवात गर्ने घोषणा गरे।

यो योजनाको सुरूवात १३ हजार करोड रूपैयाँबाट हुने उनले जानकारी दिए।

मोदीले १० वर्षमा आफ्नो नेतृत्वको सरकारले भारतलाई अर्थव्यवस्थाको १० औंबाट पाँचौं स्थानमा ल्याएको जिकिर गरे।

‘हामी सत्तामा आउँदा अर्थव्यवस्था १० औं नम्बरमा थियो, आज पाँचौं नम्बरमा छ,’ उनले भने।

प्रधानमन्त्री मोदीले सन् २०४७ सम्म भारत विकसित बन्ने निश्चित रहेको दाबी गरे।

उनले भने, ‘साल २०४७ मा स्वतन्त्रताको सय वर्ष पूरा हुनेछ। हामीले भारतको झन्डा एक विकसित देशको रूपमा फहराउनु छ। भारत २०४७ सम्म विकसित देश बनेर छोड्छ।’

भारतलाई विकसित देश बनाउन भ्रष्टाचार, परिवारवाद र तुष्टिकरणसँग लड्न जरूरी रहेको उनको भनाइ छ।

 

Tags: