post-slider post-slider

एकीकृत समाजवादीमा विग्रह!

Image
A A

काठमाडौं- नेकपा एमालबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई चारदलीय समाजवादी मोर्चामा सहभागी गराएका छन्।

आ–आफ्नै बाध्यता र स्वार्थका कारण सहभागी दलहरूले अन्ततः एउटै पार्टी बनाउने उद्देश्यअनुरूप त्यसो गरेको कतिपयको विश्लेषण भइरहेको छ।

तर, मोर्चामा सहभागी एउटा दल एकीकृत समाजवादीभित्र सम्भावित विग्रहको तरङ उत्पन्न हुन थालेको देखिएको छ।

प्रतिनिधिसभाको बैठकमै यथास्थितिमा बजेटको पक्षमा भोट हाल्न नसक्ने चेतावनी दिएका सांसदहरू अझै पनि त्यही अडानमा छन्।

पार्टीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले बजेटलाई साथ नदिने अडान दोहो¥याउँदै आएका छन्।

बजेट विनियोजन र बनाइएका योजना ‘असन्तुलित, वितरणमुखी र मन्त्रीमुखी’ भएको लगायतका आरोप असन्तुष्ट सांसदहरूको छ।

पाण्डेले पार्टी अध्यक्ष नेपालले बजेटलाई समर्थन गरे पनि आफूहरूले गर्न नसक्ने सार्वजनिक रूपमै प्रष्ट पारिसकेका छन्।

एकीकृत समाजवादीभित्र असन्तुष्टिका आवाजहरू सुनिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३० जेठमा अध्यक्ष नेपालसहित सत्तारुढ गठबन्धनका केही नेतासँग छलफल गरेका थिए।

भौतिक पूर्वाधारमन्त्री तथा पार्टी उपमहासचिव प्रकाश ज्वालाका अनुसार प्रधानमन्त्री र सरकारको तर्फबाट असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैले उनी बजेट पारित हुनेमा ढुक्क छन्।

तर, सांसद पाण्डेले त्यसबाट चित्त नबुझाएको संकेत दिँदै आइतबार फेरि दोहो¥याए,‘मैले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अगाडि राखेर ‘भोट’ हाले तपाईं एक्लै हाल्नुहोस्, हामी चाहिँ हाल्दैनौं भनेर प्रधानमन्त्री र अर्थमन्त्रीकहाँ लगेर पनि भनेको छु।’

पार्टीकै कतिपय नेताहरूमा उनले अध्यक्षलाई चुनौती दिएको अथ्र्याएका छन्। तर, कतिपयले त्यसलाई उनको ‘स्वभाव र शैलीअनुसारकै अभिव्यक्ति’ को संज्ञा दिएका छन्।

पार्टी त अध्यक्षको मात्रै नभएको आफू पनि संसदीय दलको उपनेता रहेको पाण्डेको भनाइ छ।

अध्यक्ष नेपाललाई ‘एक्लै’ र आफूहरूलाई ‘हामी’ भनेका नेता पाण्डेजस्तै के अन्य सांसद पनि बजेटको विपक्षमा उभिएलान् त?

सांसदहरू कृष्णकुमार श्रेष्ठ, अम्मरबहादुर थापा र भानुभक्त जोशीले प्रतिनिधिसभामै बजेटलाई समर्थन नगर्ने चेतावनी दिएका थिए।

सांसद थापा बजेटको सवालमा पार्टीको निर्देशन नमान्ने बताएका छन्। उनी भन्छन्,‘मैले त पार्टी अध्यक्षलाई पहिल्यै मेरो पद लग्ने भए लैजानुस् म यथास्थितिमा भोट हाल्दिन् भनिसकेको छु।’

अर्का सांसद भानुभक्त जोशीले संघीयताको मर्मविपरित बजेट विनियोजन भएको भन्दै असन्तुष्टि पोखेका छन्।

पार्टी र गठबन्धनमा छलफल गरेर निकास निकालिनेमा आशावादी देखिएका उनी यथास्थितिमै बजेट पारित हुन नसक्ने संकेत गरे।

संसदीय दलका उपनेतासमेत रहेका सांसद पाण्डेले त कारबाही गर्ने ‘कसैको तागत नभएको’ बताउँछन्।

उनी भन्छन्,‘बजेट संशोधन भएका जति प्रमाण दिन पनि तयार छु। तर सांसद भनेको निरीह प्राणी हुन् भन्ने मानसिकता अन्त्य गर्नुपर्छ।’

पार्टी अध्यक्ष नेपाललाई नै अप्ठेरो पर्नेगरी बजेटलाई लिएर आफ्ना सांसदहरूले आवाज उठाइरहँदा ‘सम्मानित’ नेता झलनाथ खनालले भने त्यसलाई जायज ठानेका छन्।

बजेट ‘न्यायोचित र आमूल परिवर्तनकारी’ नभएको उनको भनाइ छ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँग बसेर त्यसको समाधान निकाल्नुबाहेक अर्को विकल्प नदेखेको उनले बताएका छन्।

अडान नछाड्ने तर पार्टी छाड्न तयार रहेको कतिपय सांसदको अडानबारे खनाल पार्टीमा छलफल गरेर टुङ्गो लगाउने बताए।

गलत कुुराविरूद्ध अडान लिन पाइने उनको भनाइ छ।

वरिष्ठ नेता मुकुन्द न्यौपानेलगायतका नेता एमालेमा फर्किएका छन्। अध्यक्ष नेपालले पार्टीलाई अन्ततः माओवादीमै विलय गराउने भन्दै असन्तुष्टि जनाउनेहरू पनि यो पार्टीमा छन्।

‘घर फर्किनेलाई उचित जिम्मेवारी र सम्मान दिने’ निर्णय गरेको एमालेले ७० वर्षको उमेर हद भर्खरै हटाएको छ।

यही बेला एकीकृत समाजवादीमा देखिएको असन्तुष्टि विभाजनसम्म पुग्न सक्ने कतिपयको अनुमान छ।

उपमहासचिव गंगालाल तुलाधार त्यो अवस्था आउने सम्भावना नभएको बताउँदै असन्तुष्टिका आवाज भने सुरूमै सम्बोधन गरिनुपर्ने तर्क गर्छन्।

उनले बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्न अध्यक्षले नै अगुवाइ र नेतृत्व गर्ने बताएका छन्।

बजेट संशोधन गर्दा गलत नजिर बस्ने भन्दै सरकारले कतिपय शीर्षकका बजेट पछि व्यावहारिक रूपमा हेरफेर र रकमान्तर गर्ने आश्वासन दिइरहेको छ।

यद्यपि अहिलेसम्म असन्तुष्टहरूले शान्त हुने संकेत दिएका छैनन्।

 

Tags: