post-slider post-slider

लागूऔषध सेवनकर्ताले इन्स्पेक्टरमाथि गरे बञ्चरो प्रहार

Image
A A

काठमाडौं- लागूऔषध सेवनकर्ता इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कट्‍वालमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका छन्।

बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै कट्‍वालमाथि आक्रमण भएको हो। ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कट्‍वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो। ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कट्‍वालमाथि आक्रमण भएको झापा प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएकामध्ये ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बन्चरो कट्‍वालको टाउकोमा हानेका थिए। बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको छ। उनको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। कट्‍वालको टाउकोमा ८ र औंलामा ३ टाँका लगाइएको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोक तीनैजनालाई प्रहरीले पक्राउ गरी इप्रका झिलझिलेमा राखेको छ।

 

Tags: