post-slider post-slider

राष्ट्रिय एकताको चुरो मधेसमा रहेको छ : राष्ट्रपति

Image
A A

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट वञ्चित नेपाली बाबुआमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयक प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन्।

सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन कार्यक्रम तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उदघाटन समारोहमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

‘देशका कुनै जायज नागरिक नागरिकताविहीन नरहुन् र देशका प्रत्येक नागरिकमा भेदभावरहीत रूपले स्वतन्त्रता, समानता र वन्धुत्वको अनुभूति गराउने कानुनी राज्य र सामाजिक न्यायको भौतिक समृद्धिसँगै साहित्य, कला, क्रिडा, ज्ञान विज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै सम्मुनत राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौं भन्ने चाहना प्रत्येक नेपालीको हो,’ उनले भने,‘नागरिकता लिनबाट बञ्चित नेपाली बाबुआमाका सन्तालाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ।’

राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेसमा रहेको भन्नेमा आफू सँधै दृढ रहेको बताए।

उनले भने,‘राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको छ र सँधै रहने कुरामा म विश्वस्त छु। नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बिपी कोइरालाले भने झैं म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सँधै दृढ छु।’

उनले समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेसको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सँधैको अटल विश्वास रहेको बताए।

पौडेलले प्रदेसलाई अधिकारसम्पन्न बनाउन नेताहरूले कन्जुस्याईं गरेको जिकिर गरे। उनले दिल खोलेर जनतालाई अधिकार दिन तीन मुख्य दलका तीन नेतालाई आग्रह गरे।

त्यसअघि मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेसलाई अधिकार नदिएको गुनसो गरेका थिए।

राष्ट्रपति पौडेलले भने,‘हामीले संघीयता तल्ला तहलाई अधिकार दिन ल्याएको हो। तर, भन्नैपर्छ अधिकार दिन कन्जुस्याई भएकै हो। अब म तीन दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएरै भन्छु, यो जनताको आवाज हो, जनतालाई अधिकार दिल खोलेर दिनुपर्छ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक जनकपुरधाम पुगेका थिए। उनले जानकी मन्दिरमा पूजाआजा गर्नुका साथै अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा समेत सहभागी हुनुभयो।

जानकी मन्दिरमा उनलाई मन्दिरका मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए।

त्यसपछि उनी महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए।

राष्ट्रपति पौडेललाई जनकपुरधाम विमानस्थलमा मधेस प्रदेसका प्रदेस प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।

 

Tags: